media khavar

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गरेको व्यंग्यको विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले जवाफ फर्काएका छन्। सिंहले शनिबार काठमाडौं १ का सम्भावित प्रतिस्पर्धीहरुमाथि प्रश्न उठाउँदै आफ्नो नेतृत्वमा स्थापना भएको दललाई एकदुई वर्ष टिकाउन नसक्नेले काम गरेर देखाउन सक्लान् भन्दै व्यंग्य गरेका थिए।
त्यसकै जवाफ दिँदै आइतबार मिश्रले काठमाडौं १ बाट लगातार चुनाव जितेका सिंहलाई १५ प्रतिप्रश्नमार्फत जवाफ दिएका हुन्।
मिश्रले संसद चलेको कुल कति दिन उपस्थित हुनुभयो? अनुपस्थित भएका दिनको भत्ता लिनुभयो कि भएन? पूर्वाधार विकास, सम्पदा संरक्षण लगायतका विषयमा के बोल्नुभयो, के गर्नुभयो? जस्ता प्रश्न गरेका छन्।
उनले सोधेका छन्, तपाईं देशको राजधानी काठमाडौँको १५ वर्षदेखिको सांसद। राजधानी शहरलाई व्यवस्थित रूपमा पूर्वाधार विकास गर्न, सफा, सुघ्घर, धुलोधुवाँ नियन्त्रित, ट्र्याफिकजाम न्यून बनाउन, खुला क्षेत्र जगेर्ना गर्न संसदमा कति पटक आवाज उठाउनु भयो? फेरि तपाईं त कुनै बेला वातावरण मन्त्री पनि हुनुहुन्थ्यो!’
‘गत महाधिवेशनमा तपाईंले आफन्तलाई लाभ हुन्छ भनेर अन्तिम घडीमा बेइमानी गर्दा तपाईंको पार्टीमा नयाँ नेतृत्व आउन नसकेको होइन?’
मिश्रले सिंहलाई समाजिक सञ्जालमार्फत सोधेका छन्, ’झण्डै एउटा कुरा विर्सिएको। गएको निर्वाचनमा एकजना नैतिकताहीन पत्रकारलाई मेरा विरूद्ध सृंखलावद्धरूपमा लेख लेख्न लगाउने चाहिँ को रेरु तपाईंले चिन्नुभएको छ भन्ने सुनेको थिएँ। छ भने बताइदिनोस् न।’
स्थानीय चुनावमा नराम्रो नतिजा आएपछि आफूले अध्यक्ष पदबाट राजीनामा दिएको भन्दै मिश्रले सिंहलाई सोधेका छन्, ‘तपाईँले चाहिँ राजनीतिबाटै राजीनामा दिने कि?’
फेसबुकबाट तपाईको प्रतिक्रिया