media khavar
काठमाडौं । लास्कु खोला र महाकाली नदीमा आएको बाढीपहिरोमा बेपत्ता भएका १० जना अझै फेला परेका छैनन् । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा पुरीएर बेपत्ता भएका महाकाली नगरपालिकाका १० जना अझै भेटिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरका अनुसार महाकाली नगरपालिका वडा नम्बर ३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, सोही वडा नम्बर ४ का सरस्वती लुहार, मोहन लुहार, वडा नम्बर २ का मानमती साहु, वडा नम्बर १ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजित लुहार बेपत्ता भएका छन् ।
महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताको खोजीमा समस्या भइरहेको उहाँले बताउनुभयो । महाकाली नदी किनारनजिकका प्रहरी युनिट परिचालन गरी खोजी भइरहेको प्रहरी निरीक्षक गाहामगरले जानकारी दिनुभयो ।
बाढीपहिरोमा परेर अहिलेसम्म पाँचजनाको मृत्यु भएको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधन क्षति भएको छ । प्रहरीले संकलन गरेको प्रारम्भिक तथ्यांकअनुसार महाकाली र नौगाडमा बाढीपहिरोबाट ४२ वटा घर पूर्ण क्षति भएको छ । नौवटा आंशिक र ४० बढी घर उच्च जोखिममा छन् । बाढीपीडित जिल्ला समन्वय समितिको कार्यालयमा आश्रय लिएर बसेको प्रहरी निरीक्षक गाहामगरले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया