☰ open

चिनियाँ नेता लीले ‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’भनेपछि….

२०७९ भाद्र २९, बुधबार १३:००
media khavar

भक्तपुर, । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् ।

बिहान ९ः२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर पुगेका अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, सङ्घीय सांसद प्रेम सुवाल, बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, सृजना गोसाईं, नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत नगर कार्यपालिकाका सदस्यहरुले स्वागत गरेका थिए ।

अध्यक्ष लीसहित उनको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुले नगरपालिकाले उनको स्वागतमा दरबार स्क्वायरको डबलीमा प्रदर्शन गरेको ऐतिहासिक भैरब प्याँख नाचको अवलोकन गरेका थिए । अध्यक्ष लीले यो नाचले चिनियाँ संस्कृति सम्झाएको भन्दै चीन र नेपालको संस्कृति मिल्दोजुल्दो रहेको बताएका छन्

उनले भक्तपुर दरबार स्क्वायर, पच्पन्न झ्याले दरबार, स्वर्णद्वार, सुन्धाराको अवलोकन गर्नुभएको थियो । पच्पन्न झ्याले दरबारको बनावटलाई निकै चासोका साथ अवलोकन गर्दै उहाँले यहाँका सम्पदाहरुमा भूकम्पले पु¥याएको क्षतिबारे पनि जानकारी लिएका थिए ।

अध्यक्ष लीलाई भक्तपुर नगरपालिकाका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले भक्तपुरको सम्पदाहरुमा भूकम्पले पु¥याएको क्षतिबारे जानकारी गराएका थिए । भक्तपुरका भूकम्पले क्षति पु¥याएको ८० प्रतिशत सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भएको जानकारी गराए ।

अध्यक्ष लीले यहाँको पुनर्निर्माणमा विदेशी दातृ निकायको सहयोगबारे जिज्ञासा राख्नुभएको जानकारी दिँदै प्रमुख लासिवाले भक्तपुर नगरभित्रका सम्पदाको पुनर्निर्माणमा कुनै पनि विदेशी दातृ निकायको सहयोग नलिएको र नगरपालिका, नेपाल सरकार एवं स्थानीयवासीको सहयोगमा सम्पदा पुनर्निर्माण गरिएको जानकारी गराएका थिए ।

प्रतिनिधिमण्डलका सदस्यहरुले नगरपालिकाले हालै पुनर्निर्माण सम्पन्न गरेको सिलु महादेव (फसीदेग)को अवलोकन गरेपछि पैदल नै पाँचतले मन्दिर पुगेर त्यहाँको अवलोकन गरेका हुन । अध्यक्ष लीले पाँचतले मन्दिरमा भूकम्पले क्षति नपु¥याउने गरी बलियोसँग कसरी बन्यो होला भन्ने जिज्ञासासमेत राख्नुभएको प्रमुख लासिवाले जानकारी दिए ।

पाँचतले मन्दिर र सँगैको भैरब मन्दिरको बनावट, निर्माणमा परम्परागत सामग्रीको प्रयोग तथा यहाँका पुराना वास्तुविद्को योजनाअनुसार निर्माण भएकाले क्षति नपुगेको प्रमुख लासिवाले जानकारी गराए ।

टौमढीमा नगरपालिकाले यहाँका सम्पदा, कला, संस्कृति र नाचका तस्बिरहरु प्रदर्शन गरेको थियो । तस्बिरहरुको अवलोकनका क्रममा अध्यक्ष लीलाई लासिवाले नयाँ वर्षमा बिस्केट जात्रा मनाउने यही ठाउँ रथ, जात्राको सञ्चालनबारे जानकारी गराए । यहाँका विभिन्न जात्रा, पर्व जात्रादेखि आज मनाइने पुलु किसी जात्राबारे समेत जानकारी गराउनु भएको थियो ।

जात्रा, पर्व, नाचहरुका बारेमा जानकारी लिएपछि अध्यक्ष लीले नेपालका धेरै कला, संस्कृति, नाच र परम्पराहरु चीनको संस्कृतिसँग मिल्दोजुल्दो रहेको बताउँदै विश्वका विभिन्न देशका संस्कृति र यहाँको संस्कृतिका केही पक्षहरुमा समानता रहेकोसमेत बताएका थिए ।

पाँचतले मन्दिरको अवलोकनपछि बिदाइका क्रममा हेर्न बसेका स्थानीयलाई अध्यक्ष लीले नेपाली भाषामै नमस्ते भनेर सम्बोधन गरे । बिदाइका क्रममा अध्यक्ष लीसहितको प्रतिनिधिमण्डललाई नगरपालिकाका तर्फबाट मयूर झ्याल, नगरपालिकाका विभिन्न प्रकाशनहरु प्रदान गरिएको थियो । कोभिड–१९ को सङ्क्रमणलाई ध्यान दिँदै नगरपालिकाले ती उपहारहरु हातमा नदिई एकमुष्ट प्रदान गरिएको थियो ।

अध्यक्ष लीले नगरप्रमुख प्रजापति, सङ्घीय सांसद सुवाल लगायतलाई उपहार प्रदान गर्नुभएको थियो । टोलीले भक्तपुरको एक घण्टासम्मको अवलोकन सकेर बिहान १०ः२० बजे फर्किएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights