☰ open

बैतडीमा डेङ्गु र स्क्रब टाइफस जोखिम

२०७९ भाद्र २९, बुधबार १३:०८
media khavar

काठमाडौं । बैतडीमा पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए ।

जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा डेङ्गु र स्क्रब टाइफस सङ्क्रमित फेला पर्न थालेका स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा डेङ्गु र स्क्रब टाइफस देखापर्ने गरेको हो । परीक्षण नगराएका व्यक्तिमा समेत डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

जिल्ला अस्पतालमा हाल दैनिकरूपमा डेङ्गु र स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । डेङ्गु र स्क्रब टाइफस लक्षण देखिए समयमा नै अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै सङ्क्रमण बारेमा जानकारी हुने उनको भनाइ छ ।

अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा डेङ्गु र स्क्रब टाइफस छ कि छैन भनेर परीक्षण गरिरहेको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले बताए । उनले भने, “केही सङ्क्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ, दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरुरी छ ।”

पछिल्लो समय दिनप्रतिदिन यहाँ डेङ्गु र स्क्रब टाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ । अहिले गाउँगाउँमा ज्वरोका बिरामी रहेकाले तीमध्ये कसैलाई डेङ्गु र स्क्रब टाइफससमेत हुनक्ने भएकाले परीक्षण गर्न भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights