☰ open

देश बनाउने उद्देश्यले गरेको पार्टी एकतामा प्रचण्डको घात : अध्यक्ष ओली

२०७९ भाद्र ३०, बिहीबार १५:०४
media khavar

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश बनाउने उद्देश्यले गरेको पार्टी एकतामा प्रचण्डले घात गर्न खोजेपछि नयाँ ढंगले पार्टी अघि बढेको भन्दै अहिलेको एमाले प्रचण्ड गुटबाहेकको नेकपाकै निरन्तरता रहेको दाबी गरेका छन् ।

प्रचण्डको गृहजिल्ला चितवनका सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारलगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले दिएको संख्यालाई प्रचण्डले बहुमत जुटाएर आफैंलाई हटाउन खोजेको बताए ।

ओलीले भने, ‘मैले अँगालो हालेर, अध्यक्ष बनाएर मेरै छेउमा राख्दा प्रचण्डले मलाई ग्वाम्मै छुरा घोपे । अस्ति कता भिडिओमा हेर्दै थिएँ, केपी ओलीलाई त मैले साधारण सदस्यबाटै निकालेको थिएँ भनेर प्रचण्ड गर्व गर्दै थिए । कस्तो व्यक्तिलाई मैले विश्वास गरेर पार्टी एकता गरेछु अहिले अचम्म लाग्छ । मैले दिएको बहुमत मविरुद्ध नै प्रयोग गर्न खोज्ने । म भन्दै थिएँ, पर्खिनुस् महाधिवेशनबाट अध्यक्ष बनाउँछु । तर, उनी भने मसँग बहुमत पुगिसक्यो भनेर निकाल्न तम्सिएछन् ।’

ओलीले अदालतले पार्टीको नाममात्र जुध्यो भनेको भन्दै नेकपा विभाजन नभएको दावी गरे । अध्यक्ष ओलीले माओवादी पार्टी अब नरहेको भन्दै प्रचण्डको नेतृत्वमा सानो केन्द्रमात्र बाँकी रहेको दाबी गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights