☰ open

कांग्रेसका दर्जनभन्दा बढी युवा प्रत्यक्ष उम्मेदवारको प्रतीक्षामा

२०७९ भाद्र ३१, शुक्रबार ०९:४५
media khavar

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको सूची बनाउन सक्रिय रहेका बेला पार्टीका दर्जनभन्दा बढी युवा नेता प्रत्यक्षतर्फको टिकटको प्रतीक्षामा छन्।

सत्ता गठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गरेर जाने कांग्रेस निर्णयले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीले नै प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बन्नबाट वञ्चित हुनुपर्ने त होइन भन्ने आशंका व्यक्त भइरहेका बेला युवापुस्ता प्रत्यक्षतर्फ उम्मेदवार बन्न लालायित देखिएका हुन्।

पार्टीका अधिकांश पदाधिकारी, पूर्वपदाधिकारी तथा प्रभावशाली केन्द्रीय सदस्यहरूले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नै उम्मेदवार बन्ने आकांक्षा राख्दै आएका छन्। त्यति मात्र होइन, कांग्रेसका जिल्ला सभापति र पूर्वजिल्ला सभापतिहरू पनि प्रत्यक्षतर्फ उम्मेदवार बन्न सक्रिय रहँदा अपवादबाहेक प्रतिनिधिसभाको प्रत्यक्षतर्फको टिकट युवाहरूले पाउने सम्भावना कमजोर बन्दै गएको छ। त्यसमा पनि युवाको दाबी रहेका अधिकांश क्षेत्र गठबन्धनका अन्य दलका प्रभावशाली नेताले दाबी गरेका छन्।

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियारसहितका नेताहरू पहिलोपटक प्रत्यक्षतर्फको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्। स्याङ्जा–१ मा गुरुङ, बाजुरामा पाण्डे र कास्की–१ परियारका निर्वाचन क्षेत्र हुन्। समानुपातिकबाटै राष्ट्रिय राजनीतिमा आफ्नो स्थान बनाउँदै आएका मीन विक पनि पार्टीले बनाएको मापदण्ड कार्यान्वयन हुने अवस्थामा प्रत्यक्षतर्फको उम्मेदवार बन्नुपर्ने बाध्यतामा छन्।

पटकपटक सांसद भएर पनि प्रत्यक्षतर्फ प्रतिस्पर्धा नगरेका नेताहरू मात्र होइन, उमेर पाको हुँदै गए पनि युवा नेताहरू प्रतिनिधिसभाको प्रत्यक्षतर्फको टिकट लिन सक्रिय छन्। त्यसरी टिकट लिन सक्रियमध्येका एक हुन् नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत रहेका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे। आगामी निर्वाचनमा मोरङ–४ बाट उम्मेदवार बन्ने आकांक्षा घिमिरेले राख्दै आएका छन्। पार्टीको तत्कालीन केन्द्रीय सदस्यमध्ये २०७४ सालको आम निर्वाचन प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवै सूचीमा घिमिरे र कल्याण गुरुङ मात्र परेका थिएन। यसपटक पनि घिमिरे र गुरुङ दुवै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्ने सम्भावना मजबुत नरहेको निकटहरू बताउँछन्।

पार्टीका प्रभावशाली नेताको दाबी रहेको घिमिरेको क्षेत्रमा चुनावी तालमेल गर्दा माओवादीको भागमा सो क्षेत्र पर्ने सम्भावना बढ्दै गएको छ। पार्टीको १४औं महाधिवेशन सभापतिको प्रत्यासी बनेका केन्द्रीय सदस्य कल्याण गुरुङको क्षेत्र महोत्तरी–१ हो। नेता गिरिराजमणि पोखरेल निर्वाचित उक्त क्षेत्रमा पनि माओवादीको दाबी छ। तर स्थानीय तहमा महोत्तरीमा माओवादीले कुनै पनि स्थानीय तहको प्रमुख÷उपप्रमुख नजितेको र आन्तरिक विवाद तीव्र रहेको भन्दै कांग्रेसले आगामी निर्वाचनमा उक्त क्षेत्र नछाड्ने बताउँदै आएको छ।

२०७४ सालको निर्वाचनमा तनहुँ–२ मा प्रदेशसभा सदस्यमा पराजित नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेलले आगामी चुनावमा सोही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने आकांक्षा राख्दै आएका छन्। तर नेता रामचन्द्र पौडेल समानुपातिक सूचीमा नबसे तनहुँ–१ बाट दाबी गर्दै आएका शंकर भण्डारी २ मा अघि सरे प्रदीप अप्ठेरोमा पर्न सक्ने अड्कल गर्न थालिएको छ। डडेलधुराका गृहजिल्ला भएका पार्टी केन्द्रीय सदस्यसमेत रहेका नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले कैलाली–४ मा आफ्नो दाबी पेस गरेका छन्।

माओवादीबाट एमालेमा प्रवेश गरेका लेखराज भट्ट निर्वाचित भएको सो क्षेत्रमा कांग्रेसका सुनिल भण्डारीसहितको दाबी छ। त्यस्तै संघका पूर्वअध्यक्ष महेन्द्र शर्माले बर्दिया–२ बाट प्रतिनिधिसभा सदस्यका लागि टिकट दाबी गर्दै आएका छन्। संघका पूर्वमहामन्त्री मनोजमणि आचार्यले रोल्पाबाट प्रतिस्पर्धा गर्न चाहेका छन्। तर रुकुम, रोल्पासहितका जिल्लामा प्रतिनिधिसभातर्फ कांग्रेसले उम्मेदवारी नदिने तयारी गरेको छ। त्यहाँबाट माओवादी नेता वर्षमान पुनका लागि पार्टीले छाड्ने तयारी गरेपछि आचार्य प्रदेशसभामा भए पनि प्रतिस्पर्धा गर्ने पक्षमा देखिएका छन्।

नेपाल तरुण दलका पूर्वअध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेत ललितपुर–३ बाट उम्मेदवार बन्न चाहेका छन्। तर चुनावी तालमेल गर्दा कांग्रेसले त्यो क्षेत्र पनि छाड्ने सम्भावना छ। माओवादी नेत्री एवं ऊर्जामन्त्री पम्फा भुसाल यसअघि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएकी थिइन्। नेविसंघ पूर्वमहामन्त्रीसमेत रहेकी केन्द्रीय सदस्य प्रतीमा गौतम काठमाडौं–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि आकांक्षी थिइन्। तर उक्त क्षेत्रमा गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दाबी नछाडेपछि उनी समानुपातिकतर्फको बाटो रोज्ने तयारीमा छिन्।

अर्का पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कुन्दनराज काफ्ले दोलखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने दौडमा छन्। पार्टीका अन्य केन्द्रीय सदस्यहरूको पनि दाबी कायमै रहेका बेला दोलखामा माओवादीले पनि दाबी गरेको छ। माओवादीले दोलखा र रामेछापमध्ये एउटा जिल्ला आफ्नो कोटामा पर्नुपर्ने जिकिर गर्दै आएको छ। कुलमान घिसिङ प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहे माओवादीले दोलखा छाडेर रामेछाप लिनेछ।

माओवादीले घिसिङलाई काठमाडौं–३ वा रामेछापबाट प्रतिस्पर्धा गर्न आग्रह गर्दै आएको स्रोतको दाबी छ। काठमाडौं–३ बाट कांग्रेस युवा नेता हरिबोल भण्डारीको पनि दाबी छ। कांग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेतसहितका अन्य नेताहरूले पनि दाबी गर्दै आएका छन्। काठमाडौं–७ मा प्रमोदहरि गुरागाईंका साथै सरोज थापा र सविन तामाङ पनि आकांक्षी छन्।

त्यस्तै नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले सप्तरी–२ मा आफ्नो दाबी पेस गरेका छन्। कांग्रेससमेतको समर्थनमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव अघिल्लो निर्वाचितमा सोही क्षेत्रबाट विजयी भएका थिए। आगामी चुनावमा पनि सो क्षेत्रबाट यादव नै उम्मेदवार बन्ने भएपछि रञ्जित प्रदेशसभा सदस्यमा झर्ने सम्भावना छ। नेविसंघका पूर्वमहामन्त्री किरण पौडेल बागलुङ–१ बाट आकांक्षी छन्।

तर उक्त क्षेत्र पनि चुनावी तालमेल गर्दा सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाको दाबी छ। स्याङ्जाका युवराज पाण्डे, सिन्धुपाल्चोका भरत खड्का, पाल्पाकाकी महेश्वरी कुवर, चितवनका जितनारायण श्रेष्ठसहितका युवा नेताहरू पनि प्रत्यक्षतर्फको उम्मेदवार बन्न आकांक्षी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights