☰ open

यस वर्षकाे असोज ३ गते उपेन्द्रकले मनाए ‘संविधान दिवस’ महन्थ ठाकुरलाई ‘कालो दिवस’

२०७९ आश्विन ३, सोमबार ०९:५७
media khavar

काठमाडौं । असोज ३ गते अर्थात् संविधान जारी भएको दिनलाई ‘कालो दिवस’ का रूपमा मनाउँदै आएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक ‘संविधान दिवस’ कै रूपमा मनाउने भएका छन् ।

उनले असोज ३ अर्थात् संविधान दिवसको अवसरमा शुभकामना दिँदै संविधान संशोधनको माग गरेका छन् । उनले भने, ‘संविधान भनेको मौलिक सिद्धान्तहरू वा स्थापित पूर्वाधारहरूको समुच्चय हो । संविधानले हरेक नागरिकलाई आफ्नो राष्ट्रियतासँग एकताबद्ध गराउन मद्दत गर्नुपर्छ ।

त्यस्तो नभएमा संविधानलाई जनताको हितका लागि संशोधन गरिरहनु पनि जरुरी हुन्छ ।’ हरेक नागरिकले पनि संविधानको सम्मान गर्नुपर्छ भन्दै अध्यक्ष यादवले देशप्रतिको आफ्नो जिम्मेवारी मर्यादित ढङ्गले निर्वाह गर्न आग्रह पनि गरेका छन् ।

उता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी र रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टीले भने आजको दिनलाई कालो दिवसको रूपमा विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।

लोसपाका अध्यक्ष ठाकुरले नेपालको संविधान २०७२ को पूर्णताको निम्ति आफूहरूले माग समेटी संविधान संशोधन नहुञ्जेलसम्म आफूहरूको विरोध जारी रहने बताए । आजको दिनलाई विरोध दिवसको रूपमा मनाउने पार्टीले निर्णयले गरिसकेको बताउँदै उनले नेपालको संविधान २०७२ ले मधेसी, आदिवासी, जनजाति, पिछडिएको समुदायलाई अधिकारबाट वञ्चित गरेको बताए । संविधानले खोसेको अधिकार प्राप्तिका लागि आफूहरूको संघर्ष निरन्तर जारी रहने उनले बताए ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले मधेसी जनताका बलिदान र संघर्षबाट आएको संविधान पनि अधुरो रहेको र बलिदान खेर जान नदिनका लागि यसको संशोधन अनिवार्य रहेको भन्दै आजको दिनलाई कालो दिवसको मनाउने बताए । ‘जबसम्म संविधानलाई सच्चिँदैन, संशोधन हुँदैन, तबसम्म हामीहरू त्यसका लागि संघर्ष गरिरहन्छौँ,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights