☰ open

यो वर्षको साफ च्याम्पियनसिपको उपाधिमा बंगलादेशलाई

२०७९ आश्विन ३, सोमबार १९:५६
media khavar

काठमाडौं । नेपालले पहिलोपटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने अवसर गुमाएको छ । आज भएको प्रतिस्पर्धात्मक फाइनलमा बंगलादेशले नेपाललाई ३–१ को गोल अन्तरले हराउँदै उपाधिमा कब्जा जमायो ।

सुरुदेखि रोमाञ्चक बनेको खेलमा नेपालले गोलका थुप्रै सुन्दर अवसरहरु सिर्जना गरे पनि फिनिसिङमा चुक्यो । नेपाली खेलाडीहरु मैदानमा निकै अठोटका साथ भिडेका थिए । तर, भाग्यले पनि नेपाललाई साथ दिएन । एकपटक गोललाइनमै पुगेको बल पनि गोलमा परिणत भएन ।

खेलको १३ औं मिनेटमा बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशकी सामसुननहरले निकै आकर्षक गोल गर्दै नेपाली समर्थकलाई स्तब्ध पारिन् । यस्तै खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले दोस्रो गोल गरिन् ।

नेपालका लागि अनिता बस्नेतले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले उत्तरार्द्धमा एक गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो । तर, बंगलादेशकी श्रीमोतीले दोस्रो व्यक्तिगत गोल गर्दै नेपाली समर्थकको आशामा पानी खन्याइदिइन् । खेलको पहिलो आफ प्रतिस्पर्धात्मक थियो भने दोस्रो हाफमा नेपालले बंगलादेशलाई निरन्तर दबाबमा राखेको थियो । तर, बंगलादेशको रक्षपंक्ति र गोलरक्षकको बलियो पर्खाल नेपालले तोड्न सकेन ।

नेपालले मध्यान्तरपछि आफ्नो गोलमेसिन सावित्रा भण्डारीलाई मैदानमा पठाएको थियो । तर, उनले पनि आज कुनै चमत्कार गर्न सकिनन् । उनले केही मौका पाए पनि त्यसको सदुपयोग गर्न चुकिन् । बंगलादेशको जीतसँगै साफ च्याम्पियनसीपले नयाँ विजेता पाएको छ ।

अहिलेसम्म भारतबाहेक कुनै पनि देशले च्याम्पियनसिप जित्न सकेका थिएनन् । भारत फाइनलबाट बञ्चित भएको पनि पहिलोपटक हो । नेपालले फाइनल जितेर उपाधि घरमै राख्ने आशाका साथ आज दशरथ रंगशालामा दर्शक ओइरिएका थिए । तर, निराश भएर फर्किएका छन् । राम्रो खेल्दाखेल्दै पनि नेपाल उपाधिसम्म पुग्न सकेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights