☰ open

चालु वर्षको दुई महिनामै २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारतमा निर्यात

२०७९ आश्विन ४, मंगलवार १२:५१
media khavar

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत भदौमा निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुइटा विद्युतगृहको ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि जेठ २७ बाट दैनिक ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।

प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन भएको जनाएको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँमा हुने भएकाले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भदौमा मात्रै विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।

हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।

‘चालु आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं, घिसिङले भने, ‘अब चाडबाड पनि सुरु हुन लागेकाले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुन्छ । तर, हाम्रो उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करिब २०० मेगावाट थप विद्युत निर्यातको सहमतिका लागि प्रस्ताव पठाएका छौं ।’

उनले भारतीय पक्षबाट थप विद्युत निर्यातका लागि छिट्टै सहमति दिने विश्वास व्यक्त गरे । आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा बल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक बल्कको मूल्य फरक–फरक हुन्छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसतदर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसतदर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ ।

थप १०० मेगावाट निर्यात प्रस्ताव

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ ।

प्राधिकरणले केही दिनअघि ४ जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो ।

यसअघि प्राधिकरणले ४ जलविद्युत आयोजनाबाट उत्पादित १११ मेगावाट विद्युत निर्यात अनुमतिका लागि प्रस्ताव पेश गरेको थियो । थप ४ जलविद्युत आयोजनाको प्रस्तावसँगै प्राधिकरणले ८ जलविद्युत आयोजनाबाट उत्पादित २१२.७ मेगावाट विद्युत निर्यातका लागि प्रस्ताव पेश गरेको हो ।

निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखु खोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माई खोला, १४.९ मेगावाटको हेवा खोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत निर्यातको प्रस्ताव गरिएको छ ।

यसअघि ४२ मेगावाटको मिस्त्री खोला, २४.२ मेगावाटको लिखु खोला ‘ए’, २३.५ मेगावाटको सोलु खोला, २२.१ मेगावाटको चिलिमेको विद्युत गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights