☰ open

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निष्कर्षमा राष्ट्रपति भण्डारी

२०७९ आश्विन ४, मंगलवार १९:३७
media khavar

काठमाडौं । दोस्रोपटक राष्ट्रपति कार्यालय पुगेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारी प्रमाणीकरण नगर्ने निष्कर्षमा पुगेकी छन् । आफूले दिएका सुझावहरूलाई संसदले बेवास्ता गरेकोमा असन्तुष्ट बन्दै राष्ट्रपति भण्डारीेले यस्तो असहज निर्णय लिएको स्रोतले बतायो ।

पहिलोपटक प्रमाणीकरणका लागि आएको विधेयकमा राष्ट्रपतिले विभिन्न कमी–कमजोरी औंल्याउँदै संसदलाई बुँदागत सुझावसहित फिर्ता पठाइदिएकी थिइन् । तर, प्रतिनिधिसभाले ती सुझावहरूलाई उपेक्षा गर्दै कुनै परिमार्जनविना दोस्रोपटक हुबहु विधेयक पारित ग¥यो । राष्ट्रियसभाले विधेयकमाथि छलफलका लागि विषयगत समितिमा त पठायो, तर, त्यहाँ पनि कुनै परिमार्जन भएन । दुवै सदनबाट हुबहु पारित भएर १५ दिनअघि विधेयक राष्ट्रपति कहाँ पुगेको हो ।

विधेयक फर्किएर आएपछि राष्ट्रपति भण्डारीले विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजिवीहरूलाई बोलाएर लगातार छलफल गरेकी थिइन् । अन्ततः उनी विधेयकलाई थाती राख्ने निर्णयमा पुगेकी हुन् । उनको यस्तो निर्णयले नयाँ संवैधानिक बहस सिर्जना गर्नेछ ।

पहिलोचोटि प्रमाणीकरणका लागि आएको विधेयकलाई पुनर्विचारका लागि राष्ट्रपतिले संसदमा फिर्ता पठाउन सक्ने नेपालको कानूनी व्यवस्था छ । तर, दोस्रोपटक फर्किएर आएको विधेयकलाई प्रमाणीकरण गर्ने बाहेकको विकल्प संविधानले राष्ट्रपतिलाई दिएको छैन । यदि राष्ट्रपतिले प्रमाणीकरण नगरेको खण्डमा के हुन्छ भन्ने प्रश्नको उत्तर पनि संविधान तथा ऐन–कानूनमा छैन ।

स्रोतका अनुसार विधेयक थाती राखेर चुपचाप बस्ने राष्ट्रपतिको रणनीति छ । यसअघि उनले राजीनामा दिने मनस्थिति पनि बनाएकी थिइन् । तर, सबैको सुझाव सुनिसकेपछि राजीनामा र प्रमाणीकरण दुवै नगर्ने मुडमा छिन् । आफूविरुद्ध अदालतमा कुनै रिट निवेदन दायर भए त्यसको सामना गर्ने उनको तयारी छ । १५ दिनभित्र विधेयक प्रमाणीकरण नभएको खण्डमा स्वतः खारेज हुने कानूनमा नै स्पष्ट उल्लेख भएकाले राष्ट्रपतिविरुद्ध अदालतले पनि कुनै आदेश गर्न नसक्ने उनलाई कानूनविदहरुले बताइरहेका छन् ।

राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगर्दाको अवस्थामा के गर्ने भन्नेमा गठबन्धनका शीर्ष नेताहरूबीच पनि छलफल चलिरहेको छ । स्रोतका अनुसार उनीहरू राष्ट्रपतिले राजीनामा दिउन् भन्ने चाहन्छन् । तर, चुनावको मुखमा राजीनामा दिएर गठबन्धनका लागि सहज वातावरण सिर्जना नगर्ने निष्कर्षमा राष्ट्रपति पुगेको स्रोत बताउँछ । नेपाली सेनाको नेतृत्व पनि नागरिकता विधेयकको विपक्षमा रहेकाले राष्ट्रपतिलाई आडभरोसा मिलेको छ ।

नागरिकता विधेयक पारित गर्नका लागि आज राति १२ बजेसम्मको समय बाँकी छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा आफू जानकार नरहेको बताए ।

राष्ट्रपति कार्यालयका सञ्चार सचिव सोम राईले पनि विधेयक प्रमाणीकरण हुने÷नहुनेबारे कुनै एकिन जवाफ दिएनन् । उनले भने, ‘राष्ट्रपतिज्यूले धेरै दिनदेखि परामर्शहरू गरिरहनु भएको छ । उहाँ एउटा निर्णयमा पुग्नुभएको होला, तर हामीलाई भनिएको छैन ।’ नेपालप्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights