☰ open

राम्दीको पुलसँगै जोडिएको महँगी

२०७९ आश्विन ६, बिहीबार १५:३३
media khavar

वालिङ, । गण्डकी प्रदेशकै एउटा प्रवेशद्वारको रुपमा रहेको राम्दी पुलको समयमै मर्मत नहुँदा केही वर्षदेखि ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । भारत सरकारले झण्डै ५१ वर्षअघि स्याङ्जा र पाल्पाको सङ्गमस्थल राम्दी (रामनदीधाम)मा निर्माण गरेको यो पुल सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गमा पर्दछ ।

डुङ्गाको सहारामा जोखिम मोलेर वारपार गर्नेहरुलाई पुल निर्माण भएँसगै सहजता भए पनि भारवहन क्षमताका सवारी साधन चल्न रोक लगाउँदा ढुवानीको खर्च बढ्न गई उपभोग्य वस्तुको लागत महङ्गो पर्न गएको व्यवसायी तथा उपभोक्ताहरुको भनाइ छ ।

निर्माण सामग्रीहरु बुटवलतिरबाट राम्दीको पुल हुँदै वालिङ आउने हुँदा पुलमा बढीमा १० टन मात्रै सामन बोकेका मालबाहक गाडीहरु आउनसक्ने भएकाले ढुवानीमा समस्या भएको वालिङ नगरपालिका वडा नं ८ जैसीपधेँरामा हार्डवेयर ब्यावसाय गर्दै आउनुभएका गह«ौं कालिका डुम्रे हार्डवयरका सञ्चालक शिवलाल डुम्रे बताउछन् । डुम्रेले भने, “पुलमा आएर रोकिनभन्दा कि त कम्पनीबाट नै थोरै सामान लिएर आउनुप¥यो कि त वैकल्पिक बाटो खोज्नुपर्ने बाध्यता रहेको छ ।”

मालबाहक गाडीले समान कम ल्याए पनि भाडा दर एउटै हुने भएकाले थोरै सामान ल्याएर धेरै मूल्य ढुवानीमा खर्च हुँदा सामन महङ्गो पर्न जाने गरेको व्यवसायी डुम्रे बताउछन् ।

बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै सामान ल्याउँदा पुल कमजोर भएकाले रोक लगाइन्छ भने नारायणगढ–पोखरा हुँदै वालिङ ल्याउँदा मूल्य धेरै पर्न जान्छ । “पहिला–पहिला वालिङमा सामान सस्तो पाइन्थ्यो, यहीँबाट स्याङ्जासहित दक्षिण पर्वतका विभिन्न ठाउँमा सामानहरु जान्थ्यो”, उनले भने, “अहिले एकातिर पुलकै कारण पनि ढुवानी बढ्यो भने अर्कोतिर नयाँ निर्माण गरिएका सडकहरुले यहाँको व्यापार व्यवसाय ओरालो लाग्दै गएको छ ।”

“धेरै भारवहन क्षमताको मालवाहक साधनमा ढुवानी गर्दा मूल्य कम पर्न जान्छ” उनले भने , “एकैपटक आउने सामग्रीलाई दुईपटक गर्नुपर्दा ढुवानीमा लागत बढ्न गई उपभोक्तामा मार पर्न गएको छ ।” छ चक्के मालवाहक साधनभन्दा अरुलाई पुलमा रोक लगाउँदा दैनिक उपभोग्य वस्तुदेखि निर्माणजन्य सामग्रीको ढुवानी मूल्य बढ्न गई महङ्गी बढेको उनले बताए ।

हाल सञ्चालनमा रहेको पुल मर्मत गरी भारवहन क्षमता बृद्धि गर्न सकिने भए अध्ययन गर्न र नहुने भए विकल्पको रुपमा अर्को पुल निर्माणका लागि तीन वर्षअघि जिल्लास्थित विभिन्न उद्योग वाणिज्य सङ्घले जिल्ला प्रशासन कार्यालयमा संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका थिए ।

गल्याङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रसाद अर्यालले भने, “स्थानीय उपभोक्ता तथा व्यवसायीहरुले दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्रीहरुको ढुवानीमा पुलका कारण महङ्गो पर्न गएको गुनासो बढ्न थालेपछि सम्बन्धित निकायसम्म दबाब दिनका लागि सबै वाणिज्य सङ्घ एकमत भई ज्ञापनपत्र बुझाएका हौंंँ ।”

पुल जीर्ण हुँदा बुटवलबाट तानसेन, राम्दी हुँदै स्याङ्जा जिल्ला प्रवेश गर्ने १० टनभन्दामाथि भारवहन क्षमता भएका सवारी साधनहरु आउनमा रोक लगाइएकाले विशेषगरी स्याङ्जा जिल्लाका उपभोक्ता तथा व्यवसायी बढी प्रभावित भएको वालिङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष अर्जुनप्रसाद खनालले बताए ।

“पुलका कारण निर्माणजन्य सामग्रीहरुको ढुवानीमा असर गरेको छ भने दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडालगायतका सामग्री ढुवानीमा समस्या भएको छ” उनले भने, “समस्या समाधानका लागि निरन्तररुपमा पहल ग¥यौं । ढिलै भएपनि निर्माण कार्य थालनीको प्रक्रिया अगाडि बढेको छ ।”

निर्माण प्रक्रिया अगाडि बढेपछि उपभोक्ता तथा व्यापारी व्यवसायी वर्ग आशावादी देखिएका छन् । पुल निर्माण भई सञ्चालनमा आएपछि ढुवानी मुल्य घट्न गई सस्तो र सहजरुपमा सामग्रीहरु पाइने विश्वास खनालको छ । सामग्री सस्तो भएसँगै ब्यापार व्यवसाय फेरि फस्टाउनुका साथै यहाँ उत्पादन भएका सामग्रीहरुको निर्यात र उद्योग तथा कलकारखाना खोल्नका लागि पनि सहजता हुनसक्ने उनको भनाई छ ।

कतिपय १०÷१२ चक्के सवारी साधनले पनि भारवहन क्षमताभन्दा कम सामग्री ल्याउन सक्ने भएपनि चक्काकै आधारमा कहिलेकाहीँ प्रहरी प्रशासनले दुःख दिने गरेको सवारी चालकहरुको गुनासो छ । सवारी साधनमा कति भार रहेको छ त्यो नभई सवारी साधनको चक्का हेरेकै आधारमा पनि रोकेर दुःख दिने गरिएको छ । धेरै भार बोक्न सक्ने सवारी साधनमा पनि अड्कलेर थोरै सामग्री ढुवानी गर्दा भाडा स्वभाविक धेरै पर्ने स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीका स्थानीयबासी शिवहरि अमात्यले बताए । पुलमा १० टनभन्दा धेरै सामन बोकेको सवारी साधन चल्न नदिने हो भने यसको सुक्ष्म ढङ्गबाट अनुगमन तथा निरीक्षण गर्नु आवश्यक रहेको उनले बताए ।

गण्डकी र लुम्बिनी प्रदेशको संगमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल निर्माण प्रक्रिया सुरु भएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत राम्दीमा कालीगण्डकी नदीमाथि हाल रहेको पुल जीर्ण हुँदै गएकाले नयाँ पुल बनाउन लागिएको हो ।

विसं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारी साधनहरु आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भई प्रक्रिया अगाडि बढेको पुल विभाग पुल सेक्टर पोखराका आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जिनीयर नवराज बास्तोलाले बताए ।

हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा ५/७ मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरेर ठेक्का सम्झौता गरिसकेको सनियर डिभिजनल इञ्जिनीयर बास्तोलाले जानकारी दिए । उनका अनुसार अनुसार बोलपत्र आह्वान गरी २०७९ असार ३० गते हिम सगरमाथा कन्ट्रक्सन प्रालिसँग पुल निर्माणका लागि सम्झौता भएको हो । “२०८२ असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्छ” उहाँले भन्नुभयो, “कूल रु २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको छ ।” एकसय ८ मिटर लम्बाई, ११ मिटर चौडाईको हुने सो पुलमा ४० टनसम्मको भारवहन क्षमता रहने उनले बताए ।

सम्झौता भएको मितिले नौ महिनाभित्र अर्थात आगामी चैत मसान्तसम्म डिजाइन स्वीकृत गरिसक्नुपर्ने छ । निर्माणस्थलको माटो परीक्षण गरिसकिएको छ भने चैत मसान्तभित्र नै निजी जग्गामा बनेका घरटहरा खाली गरी क्षतिपूर्ति दिइने उनले बताए ।

देशकै पर्यटकीय शहर एवं गण्डकी प्रदेशको सदरमुकाम पोखरालाई व्यापारिक शहर बुटवल तथा भारत जोड्ने पुरानो सडक हो सिद्धार्थ राजमार्ग । भारत सरकारको सहयोगमा निर्माण भएको यो राजमार्ग साँघुरो, घुमाउरो तथा घुम्तिहरु धेरै रहेका छन् । पुरानो यो सडक साँघुरो र धेरै घुमाउरो छ भने स्तरवृद्धि हुन सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights