☰ open

आपराधिक कार्यहरूलाई रोकथाम र नियन्त्रण गर्न प्रहरी तालिम नियमित हुन आवश्यक : गृहमन्त्री

२०७९ आश्विन ७, शुक्रबार १५:०२
media khavar

काभ्रे, । गृहमन्त्री बालकृष्ण खाणले आपराधिक कार्यहरूलाई रोकथाम र नियन्त्रण गर्न प्रहरी तालिम नियमित हुन आवश्यक रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको पनौतिस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भवन निर्माण कार्य उद्घाटन गर्दै गृहमन्त्री खाणले शुक्रबार यस्तो बताए ।

गृहमन्त्री खाणले समाजमा हुने विभिन्न प्रकारका अपराधहरूको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्ने र देशको आन्तरिक शान्ति सुरक्षा कायम गर्ने महत्वपूर्ण र जटिल जिम्मेवारी पूरा गर्न नेपाल प्रहरीलाई क्षमता अभिवृद्धि गर्न गुणस्तरीय प्रशिक्षणको महत्वपूर्ण रहेको बताए । उहाँले प्रशिक्षणको माध्यमद्वारा प्रहरीहरुको दक्षता अभिवृद्धि गरी समग्र प्रहरी संगठनको क्षमता विकास हुने र समष्टिगत रुपमा सिंगो संगठनको उत्पादकत्व वृद्धि हुनेसमेत बताए ।

भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने उक्त प्रतिष्ठानले दक्ष र सक्षम प्रहरी जनशक्ति उत्पादन गरी जनअपेक्षा बमोजिम गुणस्तरीय र भरपर्दो प्रहरी सेवा प्रदान गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । नेपाल प्रहरीको तालिमको गुणस्तर वृद्धि गरी नेपाल प्रहरीका अधिकृतहरूलाई अन्तर्राष्ट्रिय, अत्याधुनिक र गुणस्तरीय बनाउन मद्दत गर्नुका साथै नेपाल प्रहरीमा सकारात्मक परिवर्तनको लागि महत्वपूर्ण सावित हुने विश्वास लिएको उनले बताए ।

गृहमन्त्री खाणले नेपाल र भारतबीचको सम्बन्ध सदियौंदेखि निरन्तर सौहार्द र सुमधुर रहेको, दुवै राष्ट्रबीच राजनीतिक, व्यापारिक, आर्थिक, सामाजिक, साँस्कृतिकलगायत हेरक क्षेत्रमा साथ र सहयोग रहेको चर्चा गरे । नेपाल र भारतबीचको सम्बन्धलाई थप मजबुत बनाउने कार्यमा भारतीय सहयोगमा निर्माण हुन गइरहेको परियोजनाले इँटा थप्ने कार्य गरेकोसमेत उनले उल्लेख गरे ।

यस परियोजना नेपाल प्रहरीको लागि एक गौरवशाली र महत्वपूर्ण परियोजनाको रूपमा रहेको बताउँदै उनले परियोजना सम्पूर्ण निर्माण कार्य समय सीमाभित्रै सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

साथै यस परियोजना निर्माणमा सहयोगको लागि भारत सरकार, भारतीय दूतावास काठमाडौं, स्थानीय सरकार, सम्बद्ध अन्य निकाय तथा पदाधिकारीहरू र स्थानीयबासीलाई धन्यवाद दिँदै परियोजनामा आवद्ध निर्माण व्यवसायी कम्पनीलाई कार्य सफलताको शुभकामना व्यक्त गरे ।

समारोहमा गृहमन्त्री बालकृष्ण खाण तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना काभ्रेको भूमि पूजन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights