☰ open

गठबन्धन एमालेलाई समाप्त गर्न चाहन्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

२०७९ आश्विन ११, मंगलवार १६:१०
media khavar

काठमाडौं, । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसपटकको चुनावलाई लडाईंको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघमा आवद्ध खेलाडीहरुलाई सम्बोधन गर्दै उनले यसपटकको निर्वाचनलाई केवल निर्वाचनका रुपमा मात्रै ठान्न नहुने बताए ।

उनले भने, ‘यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्न हुँदैन । यसपटकको निर्वाचन लडाईंको रुपमा हाम्रो अगाडि छ, जुन लडाईं हामीले जित्नैपर्छ । जित्नैपर्ने लडाईंको रुपमा हामी यो निर्वाचनमा छौं।’

उपाध्यक्ष पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने उद्घोष गरे। ‘गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य छैन । यो गठबन्धनको उद्देश्य एमालेलाई समाप्त गर्न चाहने मात्रै हो । यो गठबन्धनको आपराधिक षडयन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ।’ उनले भने। उनले पाँचदलीय गठबन्धनको कुनै भविष्य नरहेको बताए।

स्थानीय तहको निर्वाचनको परिणामलाई जोड्दै उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धनले एमालेलाई भित्तामा टाँसिदिन्छु भनेका थिए, टर्च बालेर खोज्नपर्छ भनेका थिए। तर, जनताको सबैभन्दा लोकप्रिय मत प्राप्त गर्ने एमाले सबैभन्दा ठूलो पार्टी बन्यो।’

उपाध्यक्ष पोखरेलले ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने बताए। उनले एकलाख भन्दा बढी विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेको बताए। ‘९ लाख सदस्य भएको पार्टीलाई कसैले पराजित गर्न सक्दैन्। त्यसैले एमालेले बहुमत ल्याएर केपी ओलीलाई प्रधानमन्त्री बनाउँछ’ पोखरेलले भने।

पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले उमेरले युवा र बुढो नहुने बताए। ‘केपी ओलीले अघि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा कम छैन। केपी ओलीले गरेका काम कुनै तन्नेरीले गरेका भन्दा राम्रा छन्। केपी ओलीले अगाडि सारेका विचार कुनै पनि तन्नेरीका भन्दा अग्रगामी छन्।’

नेपालको राजनीतिमा युवा र खेलकुद क्षेत्रलाई सबैभन्दा पहिला अगाडि बढाउने पार्टी नेकपा (एमाले) भएको उनको भनाइ छ। मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पहिलोपटक युवा तथा खेलकुद मन्त्रालय स्थापना गरेको उनले स्मरण गराए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights