☰ open

सांसदको उम्मेदवार नबने पनि एमालेमै रहन्छु : अभिनेत्री करिश्मा

२०७९ आश्विन २५, मंगलवार १०:१०
media khavar

काठमाडौं । नेकपा एमालेले सांसदको उम्मेदवार नबनाएकोमा करिश्मा मानन्धरले सार्वजनिक असन्तुष्टि जनाएकी छन् । गएको चैतमा एमाले प्रवेश गरेकी अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल मार्फत् असन्तुष्टि जनाएकी छन् ।

तर सांसद नबने पनि एमालेमै रहने उनी बताउँछिन् । ‘डिजर्भिङ पिपुलहरु ल्याइनुपर्छ भन्ने हो, तर पाँच वर्ष एमालेमै रहन्छु’, मानन्धरले भनिन् । सबै क्षेत्रलाई पहुँच दिने पार्टी एमाले भएपनि आफूले त्यो अवसर नपाएको उनले बताइन् । ‘सबै क्षेत्र र ठाउँलाई समान पहुँच दिने पार्टी भनेको त एमाले हो । तर म त्यो पहुँच भन्दा माथिको रहेछु के । मैले त्यसरी बुझें’, मानन्धर भन्छिन् ।

आफूले टिकट नपाउनुमा एमाले अध्यक्ष केपी शर्मा ओली भन्दा पनि अरु नेताहरु कारण रहेको उनी बताउँछिन् । ‘पार्टीमा उहाँ (केपी ओली) मात्रै होइन नि, अरु पनि छन्’, मानन्धर भन्छिन् ।

उम्मेदवार नबन्ने अवस्थाले खुशी हुन नसकेको मानन्धर बताउँछिन् । ‘म खुशी छैन । तर केपी शर्मा ओलीलाई माया गर्ने मान्छे हुँ’ उनी भन्छिन्, ‘मेरो चित्त दुखाइ छ । एमाले र केपी शर्मा ओली भन्दा अर्को कुनै पार्टी छैन र अर्को कुनै नेता छैन, देशलाई अगाडि लान ।’

एमालेमै रहेर ललितपुर–१ का उम्मेदवार नवराज सिलवाललाई मत माग्ने उनी बताउँछिन् । ‘यहाँबाट म नवराज सिलवाल दाइलाई सहयोग गर्छु’, मानन्धर भन्छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights