☰ open

पोखराको यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाईदै, हरियाली प्रवद्र्धनमा कोरियाको चासो

२०७९ कार्तिक ४, शुक्रबार ०९:२९
media khavar

पोखराको अहिलेको सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्न कोरियाले चासो देखाएको छ । त्यसका लागि कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने बताएको छ। पोखरा महानगरसँगको समन्वयमा कोरियाले सहयोग गर्न लागेको हो।

त्यसका लागि कोरियाली विज्ञको टोली र पोखरा महानगरपालिकाबीच छलफल भएको छ। छलफलमा पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्ने उद्देश्य लिइएको छ। पाँचदिनसम्म पोखरामा रहेको कोरियाली टोली पोखराको सार्वजनिक यातायात र यसको रुट तथा पूर्वाधारका विषयमा स्थलगत अध्ययन समेत गरेको छ।

टोली प्रमुख तथा रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तर्गत पोखराका ८४ वटा बस रुटमा १ हजार २ सय ८६ स्थानमा बसस्टप र ३ स्थानमा बस टर्मिनल निर्माण गरिनेछ।

पहिलो चरणमा खर्च गर्न थालिएको १५ लाख डलरको आधा रकम बस स्टप र बसमा मेसिन जडान गर्दा खर्च हुने किमले बताए। त्यस्तै पोखराको मुख्य पृथ्वीचोकलाई थप विस्तार समेत गरिने पनि उनले बताए। तीनचरणमा सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा २०२५ सम्म सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक काम गरिनेछ। यस्तै दोस्रो चरण सन् २०३० सम्म हरित यातायात प्रणालीको विकास गरिने छ भने तेस्रो चरण सन् २०३५ सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ।

विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने किमले विश्वास दिलाए। परियोजना दौरान हाल नेपालमा रहेका सवारीको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिने छ। टोलीका अनुसार परियोजनाको अन्त्यमा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ।

प्रविधिमैत्री बनिसकेपछि पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाबारे हरेक नागरिकले डिजिटल माध्यमबाट जानकारी पाउनेछन्। अहिलेजस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नुपर्ने छैन भने चालकले समेत जथाभावि यात्रु चढाउन र ओराल्न पाउने छैनन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा, बस चढ्ने यात्रुको संख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुलाई सहजता हुने विश्वास व्यक्त गरे।

पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुने उनले बताए। यस परियोजनाले पोखरामा समावेशी, दिगो र वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास मेयर आचार्यको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights