☰ open

चुनावपछि एमालेको सरकार बन्ने र समुद्रमा नेपाली झण्डासहितको पानी जहाजको आवागमन हुने दाबी

२०७९ कार्तिक २१, सोमबार १५:४७
मिडियाखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि नेपालको झण्डासहित पानी जहाज समुद्रमा चल्ने दाबी गरेका छन्। ‘म प्रधानमन्त्री बन्छु। म गठबन्धनको निर्णय सुन्न चाहन्छु। जनता गठबन्धनको निर्णय सुन्न चाहन्छन्। को हो तपाईंहरूको प्रधानमन्त्री?, ओलीले भने। आफ्नो नेतृत्वको सरकार रहेकै बेला यो प्रक्रिया अगाडि बढेको तर देउवा सरकारले अनुमति नदिँदा सञ्चालन हुन नसकेको उनले बताए।

सोमबार पोखरामा चुनावी सभालाई सम्बोधन गर्दै ओलीले चुनावपछि एमालेको सरकार बन्ने र समुद्रमा नेपाली झण्डासहितको पानी जहाजको आवागमन हुने दाबी गरेका हुन्।

‘मंसिर ४ पछि एमालेको सरकार आउँछ र आवश्यक स्वीकृति दिएर नेपाली झण्डासहितको पानी जहाज समुद्रमा सञ्चालनमा आउँछ,’ ओलीले भने। ओलीले पानी जहाज सञ्चालनका लागि सर्भेसमेत भइसकेको जिकिर गरे।

उनले भने, ‘मंसिर ४ पछि हामी सञ्चालनका लागि स्वीकृति दिन्छौं। हाम्रो पानी जहाज नेपाली झण्डा राखेर कोसी, गण्डकी हुँदै गंगाको बाटोबाट समुद्रसम्म पुग्छ। आवागमन छिटो, सस्तो र सुरक्षित हुन्छ। सर्भे भइसकेको छ। अब हामीले पोर्ट मात्र बनाउन बाँकी छ।’

ओलीले आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गरे। चुनावपछि आफू प्रधानमन्त्री बन्ने उनको भनाइ थियो।

चुनावपछि कांग्रेसभन्दा ठूलो दल एमाले बन्ने ओलीको ठोकुवा छ। उनले भने, ‘अहिले के के नामको सर्भेमा एमालेलाई कांग्रेसको हाराहारीमा सिट ल्याउने देखाउन खोजिएको छ। कांग्रेस जति भोट ल्याउँछ भन्ने इम्प्रेसन एमालेलाई पार्न खोजिएको छ। तर, सानो मार्जिनमा होइन, एमाले अत्याधिक बहुमतले अगाडि हुन्छ।

एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दललाई सरकारमा सामेल गर्ने ओलीको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights