☰ open

काठमाडौं महानगर कार्यालयमा सुकुम्बासीको प्रदर्शन

२०७९ मंसिर १३, मंगलवार १२:०७
मिडियाखबर

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्तीका बासिन्दाले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । आफूहरुको उचित व्यवस्थापन विना हटाउन लागिएको विरोधमा उनीहरुले महानगरको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार आज बिहान सुकुम्बासी बस्तीका ३ सय भन्दा धेरै व्यक्तिहरु महानगर घेर्न गएका हुन् । थापाथलीबाट नारा जुलुस गर्दै गएका उनीहरुले महानगर विरुद्ध केहीबेर नारा लगाएर फेरि थापाथलीमै फर्किएका छन् । उनीहरुले थापाथलीको सुकुम्बासी बस्ती छिर्ने मुख्य बाटाहरुमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

एकीकृत  वाग्मती सभ्यता विकास समितिले अतिक्रमित बस्ती खाली गराइदिन महानगरलाई अनुरोध गरेसँगै महानगरको टोली सोमबार बस्तीमा पुगेको थियो । सो क्रममा दुवै पक्षबीच झडप हुँदा स्थिति तनावपूर्ण भएको थियो । झडपमा नगर प्रहरी प्रमुख सहित ३६ जना घाइते भएका थिए ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर नदी किनारका अतिक्रमित बस्ती खाली गर्न सूचना निकालेको थियो । सोही अनुसार बस्ती खाली गर्न महानगर टोली हिजो पुगेसँगै थापाथली क्षेत्र अशान्त छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights