मिडियाखबर

नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद प्रकाशमान सिंहले मेलम्ची खानेपानी आयोजनाको पानी दीर्घकालीन रूपमा काठमाडौं ल्याउने गृहकार्य अघि बढाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
केही दिनअघि मेलम्ची खानेपानी आयोजना स्थल पुगेर फर्किएका नेता सिंहले मंगलबार प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।
मेलम्चीको पानी स्थायी रूपमा काठमाडौं ल्याउन आयोजनाका कर्मचारी र मुहान क्षेत्रका स्थानीयका माग सम्बोधन गर्नुपर्ने लगायतका ९ बुँदे सुभाव उनले दिएका छन्।
सिंहले मेलम्ची खानेपानी विकास समिति खारेज भएको भन्दै त्यसलाई ब्युँत्याउनुपर्ने सुझाव प्रधानमन्त्री देउवालाई दिएका छन्।
‘आर्थिक वर्ष २०७९ / ८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँत्याउनुपर्ने वा अन्य आवश्यक लिनुपर्ने,’ प्रधानमन्त्री देउवालाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ।
मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुंगोमा पुग्न सिंहले सुझाव दिएका छन्।
वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्र्याकमा कार्यान्वयन गराउन आवश्यक निर्णय लिनुपर्ने र कर्मचारीको तलबसुविधालगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक रहेको उनले भनेका छन्।
यस्तै बाढीपहिरोपछि एसियाली विकास बैंलगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरी पेस गरेको प्रतिवेदनको निष्कर्षअनुसार आयोजना अगाडि बढाउन सिंहको सुझाव छ।
खानेपानीको इन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गराइ असुरक्षित भए उपयुक्त स्थानमा इन्टेक बनाउन उनले सुझाव दिएका छन्।
मेलम्ची बाढीपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुनःनिर्माणलगायतका उचित व्यवस्था गर्न नेता सिंहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया