मिडियाखबर

भारतले महाकाली नदीको प्राकृतिक धार नेपालतर्फ सोझ्याउँदै तटबन्ध निर्माण कार्य अघि बढाएको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मन्त्रालयले मंगलबार कूटनीतिक पत्राचार गरेको जानकारी दिएकी छन्। गृह मन्त्रालयबाट आएको प्रतिवेदनका आधारमा भारतलाई कूटनीतिक नोटमार्फत आवश्यक ध्यानाकर्षण गराइएको उनले बताइन्।
यस विषयमा भारत सरकारको ध्यानाकर्षण र दुई पक्षबीच सहजीकरण गराउन सोमबार गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो।
गृह मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी वसन्त भट्टराईले यस किसिमका समस्याको दीर्घकालीन समाधान खोज्न आवश्यक काम गर्नुपर्ने भएकाले कूटनीतिक पहल अघि बढाउन आग्रह गरिएको बताए।
उनका अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलालाई स्थलगत निरीक्षणका लागि प्राविधिक टोली खटाउनसमेत पत्राचार गरिएको हो।
भारतले महाकाली नदीको प्राकृतिक धार नेपालतिर मोड्दै आफ्नो भूभागमा पक्की संरचना निर्माण गरिरहेको भन्दै दार्चुला, खलङ्गाका स्थानीयवासीहरू विरोधमा उत्रिएका थिए।
खोलाको धार नेपालतिर धकेल्दा नेपालको तटबन्धमा असर पर्ने र बस्तीमा बाढीको जोखिम बढ्ने भन्दै स्थानीयले निर्माण कार्य रोक्न दबाब दिएका थिए।
यसक्रममा भारतीय पक्षसँग ढुङ्गा हानाहानसमेत भएको बताइएको छ। प्रदर्शनकारीहरूलाई रोक्न नेपाल प्रहरी लाठीचार्जसमेत गरेको थियो।
आम मानिस आक्रोशित भए पनि कूटनीतिक र प्रशासनिक तहमा छलफलपश्चातमात्रै निर्माण कार्य अघि बढेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको दाबी हो।
नेपाल–भारत सीमा क्षेत्रका स्थानीय बासिन्दालाई प्रक्रियाबारे बुझाउन नसक्दा विवाद सिर्जना भएको उनको भनाइ छ। उनले नेपालको दार्चुला र भारतको धार्चुला क्षेत्रमा नदी छेउका संरचनाहरू बेला मौकामा निर्माण वा मरम्मत सम्भार भइरहने बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया