☰ open

प्रतिनिधिसभाका सभामुख चयनका लागि आज मनोनयन दर्ता हुने

२०७९ माघ ४, बुधबार १०:१९
मिडियाखबर

प्रतिनिधिसभाका सभामुख चयनका लागि आज मनोनयन दर्ता हुने भएको छ। निर्वाचन भने बिहीबार हुनेछ। संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले यसअघिको प्रतिनिधि सभाको बैठकको निर्देशनअनुसार कार्यतालिका प्रकाशन गरेका छन्।

कार्यतालिका अनुसार बुधबार दिउँसो १ देखि ४ बजेसम्म मनोनयन दर्ता हुनेछ। सभामुख चयनको कार्यक्रम सकिएपछि माघ ७ गते उपसभामुख चयनको तयारी सचिवालयले गरेको छ।

निर्वाचन कार्यतालिकाअनुसार मनोनयन संसद् भवन नयाँबानेश्वरमा हुनेछ। बुधबार ४:१५ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ। प्राप्त प्रस्तावहरू बिहीबार बिहान बस्ने प्रतिनिधि सभा बैठकमा पेस हुनेछन्। सभामुख चयनका लागि माघ ५ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ।

तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतबाट सभामुख निर्वाचित हुनेछन्। २७५ सदस्यीय प्रतिनिधि सभामा निर्वाचित हुन कम्तीमा १३८ सदस्यको मत आवश्यकता हुन्छ।

सभामुखमा सत्तारूढ गठबन्धनबाट नेकपा (एमाले)ले उम्मेदवार बनाउने पक्का भएको छ। एमालेले देवराज घिमिरेलाई अघि सारेको छ।

सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने घोषणा गरेको नेपाली कांग्रेसले भने उम्मेदवार उठाउनेबारे निर्णय गरिसकेको छैन। सभामुखका लागि उम्मेदवार उठाउने कि नउठाउने भन्नेबारे छलफल गर्न केहीबेरमा कांग्रेसका पदाधिकारीहरूले छलफल गर्दैछन्।

यसअघि कांग्रेसले यसबारे अरू दलहरूसँग छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएका थिए। मंगलबार सर्वदलीय बैठक राखेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि संवैधानिक पदहरूमा राजनीतिक सहमतिका आधारमा अघि बढ्न सकिने धारणा राखेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights