☰ open

नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार

२०७९ माघ ६, शुक्रबार १४:०५
मिडियाखबर

नेपाली कांग्रेसले उपसभामुख पदमा मुक्ताकुमारी यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ। शुक्रबार सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसेको पदाधिकारीसहित शीर्ष नेताहरूको बैठकले सांसद यादवलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

‘बिहान बसेको बैठकमा मुक्ताजीलाई उम्मेदवार बनाउने कुरा भएको छ,’ एक पदाधिकारीले भने। केन्द्रीय सदस्यसमेत रहेकी उनी समानुपातिक सांसद हुन्। धनुषा घर भएकी यादव संविधानसभा सदस्य हुन्।

यादवले भने उपसभामुखको उम्मेदवार बनाउनबारे भएको निर्णयबारे आफूलाई थाहा नभएको बताएकी छन्।

‘मलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय भएको विषयमा कुनै जानकारी छैन,’ उनले आयोमेलसँग भनिन्,‘उपसभामुखको उम्मेदवार बन्छु भनेर मैले चाहना पनि व्यक्त गरेको छैन। म उम्मेदवार होइन।’

आज उपसभामुखका लागि मनोनयन दर्ता हुँदैछ। संघीय संसद सचिवालयले उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेदेखि ४ बजेसम्म समय तोकेको छ।

शनिबार बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन हुनेछ। कांग्रेसले सभामुख पदमा पनि महिला उम्मेदवार बनाएको थियो। कांग्रेसको तर्फबाट ईश्वरी न्यौपाने उम्मेदवार बनेकी थिइन्।

बिहीबार भएको सभामुखको चुनावमा उनले कांग्रेससहित नेकपा (एकीकृत समाजवादी), लोसपा र राष्ट्रिय जनमोर्चाको मत पाएकी थिइन्।

सभामुखमा पुरुष निर्वाचित भइसकेकाले उपसभामुखमा महिला उम्मेदवार दिनुपर्ने हुन्छ। कांग्रेसलाई सघाएको एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चासँग महिला सांसद नभएकाले कांग्रेसले आफ्नो उम्मेदवार दिन लागेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights