☰ open

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबारे दुई दिनपछि निर्णय गर्ने

२०७९ माघ २०, शुक्रबार ११:१४
मिडियाखबर

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबारे दुई दिनपछि निर्णय गर्ने भएको हो। बिहीबार बसेको पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले यस्ताे निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकार नछोड्न भनेका थिए। पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार सत्ता साझेदार दुई नेताकाे आग्रहका आधारमा दुई दिन कुर्ने निर्णय गरेकाे हो।

उनले गृहमा आफ्नो पार्टीकाे दाबी भने कायमै रहेकाे बताए। हामीले उहाँहरूकाे आग्रहलाई स्विकार गर्दै दुई दिन कुर्ने निर्णय गरेका छौं’ उनले भने ‘नेताहरूले उच्चस्तरीय संयन्त्रकाे बैठकमा छलफल गर्ने वचन पनि दिनुभएकाे छ। त्यसपछि पनि हाम्राे माग सुनुवाइ नभए हामीले उचित निर्णय लिनेछौं।’

बैठकमा सबैजसाे नेता तथा मन्त्रीहरूले आआफ्नाे धारण राखेका थिए। उनीहरूमध्ये अधिकांश नेताहरूले अहिले नै सरकार छोड्न नहुने धारणा राखेका थिए। तर पार्टी सभापति रवि लामिछानेले भने दलहरूले पार्टीकाे भागमा परेको गृह मन्त्रालय दिन नमानेकाे भन्दै सरकार छोड्न नै उचित हुने भन्दै सरकार छोड्ने अडान लिएका थिए।

‘तर हामीले उच्चस्तरीय संयन्त्रका संयोजक र प्रधानमन्त्रीले समेत हामीसँग समय माग्नुभयो। उच्चस्तरीय राजनीतिक संयन्त्रमा हाम्रो पार्टी पनि छ’ ढकालले भने ‘राप्रपाका अध्यक्षज्यूले पनि फाेन गरेर केही समय कुर्न भन्नुभएकाे थियाे। सबैकाे आग्रहमा हामीले दुई दिन कुर्ने निर्णय गर्‍यौं।’

बैठकमा सबै नेताहरूकाे धारणामा एकमत नभएपछि बैठक करिब ४ घण्टासम्म चलेको थियो।

नागरिकता मुद्दामा सर्वोच्चको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सबै पदहरू गुमेका थिए। फैसलापछि जिल्ला प्रशासन कार्यालयबाट उनले पुन: नागरिकता लिएर पार्टी सभापतिमा बहाली भए पनि उनले जितेको क्षेत्रमा भने उपनिर्वाचन हुनेछ।

तर उनको राष्ट्रिय स्वतन्त्र पार्टीले भने गृहमन्त्रालय आफ्नो भागमा परेको भन्दै त्यो नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले भने सर्वोच्च फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्रालयबारे कुनै निर्णय नहुने बताइरहेका छन्।

माओवादीले पनि उसलाई ‘धैर्य गर्न’ भनेको थियो।

गृह नपाए सरकारबाट बाहिरिने चेतावनी दिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेको बोलाएको थियो।

बैठकअघि रविले आफूविरूद्ध लेख्ने, बोल्ने आज अन्तिम दिन भएको भन्दै आफू ‘अभिमन्यू’ नभएको चेतावनी दिएका थिए।

‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला’ उनले भनेका थिए ‘मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

पहिलोपटक चुनाव लडेको राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिकसमेत गरी २० जना सांसद छन्। माओवादीले कांग्रेससँगकाव गठबन्धन छोडेर एमालेसँग गएपछि राष्ट्रिय स्वतन्त्र पार्टीसहित आठ दलको सत्ता गठबन्धन बनेको थियो।

तर नागरिकता प्रकरणमा रवि लामिछानेले ३२ दिनमै पदबाट राजीनामा दिनुपर्‍यो। लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए। राष्ट्रिय स्वतन्त्र पार्टीबाटै डोलप्रसाद अर्याल श्रम मन्त्री र शिशिर खनाल शिक्षा मन्त्री भएका थिए। त्यस्तै डा. तोषिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी थिइन्।

‘शक्ति सन्तुलन’ नमिलेको भन्दै जनता समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टी सरकारमा गएका छैनन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights