मिडियाखबर
पराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ।
निर्वाचन अधिकृतको कार्यालयले तोकेको कार्यसूचीअनुसार साँझ ५ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्न लागिएको हो।
उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। जसमध्ये तीन जना सत्ता साझेदार दल र एकजना नेकपा एमालेका उम्मेदवार हुन्।
सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादव तथा जनमत पार्टीकी ममत झाले उम्मेदवारी दिएका छन्।
शनिबार बसेको सत्ता साझेदार दलहरूको बैठकमा उपराष्ट्रपतिका साझा उम्मेदवार तय गर्ने विषयमा सहमति जुट्न नसकेपछि जसपा र जनमत दुवैले आ–आफ्नो उम्मेदवार खडा गरेको हो।
जनमत पार्टीलाई गठबन्धनभित्रकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले साथ दिएको छ। शनिबार साँझ बसेको तीन दलको बैठकले कार्यगत सहकार्य गर्ने निर्णयसमेत गरेको छ।
जसपाले मधेस प्रदेसमा मुख्यमन्त्री पाएकोले उपराष्ट्रतिमा दाबी छोड्नुपर्ने यो तीन दलको भनाइ छ।
त्यस्तै नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता भएको छ।
रामसहायको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। उपराष्ट्रपति उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाका साथै एमाले सांसद महेस बर्तौलाले उजुरी दिएका हुन्।
राष्ट्रपतिमा पुरुष उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा पनि पुरुष उम्मेदवार हुन नहुने उजुरीमा दाबी गरिएको छ।
निर्वाचन आयोगले पनि राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ।
निर्वाचन आयोगको यो भनाइपछि रामसहायको उम्मेदवारी रद्द भएको अवस्थामा उपराष्ट्रपति पद आफ्नो भागमा सुरक्षित राख्न जसपाले प्रमिला यादवलाई पनि उम्मेदवार बनाएको बताइएको छ।
प्रमिला राष्ट्रियसभा सदस्य हुन्।
उजुरीहरूमाथि जाँचबुझ गरेर मध्याह्न १२ बजेभित्र निर्णय गर्ने, नामावली फिर्ताको समय दिने र पाँच बजेभित्र अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया