☰ open

राजेन्द्र महतो बारा–२ मा उपनिर्वाचन लड्ने

२०७९ चैत्र १७, शुक्रबार १४:३५
मिडियाखबर

बारा–२ उपनिर्वाचनमा महतोलाई उम्मेदवार बनाउने निर्णय भएको एक नेताले जानकारी दिए। महतो ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–२ बाट पराजित भएका थिए। धनुषा–३ छाडेर सर्लाही–२ पुगेका महतोलाई पुराना सहकर्मी नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष महिन्द्रराय यादवले पराजित गरेका थियो।

महतोलाई उनले २ हजार ११ मतान्तरले पराजित गरेका थिए। बारा–२ बाटै जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव चुनाव जितेर प्रतिनिधिसभा पुग्ने रणनीतिमा छन्। बारा–२ जसपा क्षेत्रीय समितिले उपनिर्वाचनका लागि अध्यक्ष यादवलाई उम्मेदवार बनाउन एकल नाम सिफारिस गरेको छन्।

यादव गत चुनावमा सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए। पहिलोपटक चुनावी राजनीतिमा उत्रिएका राउतले अध्यक्ष यादवलाई फराकिलो मतान्तरले पराजित गरेका थिए। जनमत पार्टीका अध्यक्ष राउतले बारा–२ को उपनिर्वाचनमा उम्मेदवार बनाउन माओवादीकेन्द्रका शिवचन्द्र कुशवाहालाई पार्टी प्रवेश गराइसकेका छन्।

कुशवाहा बुधबारमात्रै जनमत पार्टी प्रवेश गरेका हुन्। उपनिर्वाचनमा माओवादी केन्द्रबाट टिकट नपाउने संकेत देखेपछि उनी जनमत पार्टीबाट चुनाव लड्ने तयारी गरेका छन्। बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो।

४ मंसिरको चुनावमा रामसहायले १३ हजार ८२२ मत ल्याएर चुनाव जित्दा तत्कालीन माओवादीका उम्मेदवार भएका कुशवाहा ३५४ मतले पराजित भएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights