☰ open

उपनिर्वाचनमा लामिछाने ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रोपटक विजयी

२०८० बैशाख १२, मंगलवार १४:०९
मिडियाखबर

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी भएका छन्।

१० वैशाखमा भएको उपनिर्वाचनमा लामिछाने ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रोपटक विजयी भएका हुन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठलाई ४२ हजार ९६२ मतान्तरले पराजित गरेका छन्।

श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन्।

त्यस्तै नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरेका छन्।

४ मंसिरमा भएको निर्वाचनमा लामिछानले ४९ हजार ३ सय मत ल्याएका थियो। यो कुल खसेको मतको ५९ प्रतिशत मत थियो। यसपालि लामिछानेले ६९ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्।

उपनिर्वाचनमा ७८ हजार २७७ मत खसेकोमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरेका हुन्।

उपचुनावमा लामिछानेका निकटतम प्रतिस्पर्धी कांग्रेस र एमालेका उम्मेदवारहरू जमानत जोगाउन सफल भए पनि अन्य उम्मेदवारहरूको भने जमानत जफत भएको छ।

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नागरिकता अवैध ठहर गरिदिएपछि चितवन–२ मा उपनिर्वाचन भएको हो।

नागरिकता अवैध ठहर भएपछि उनको सांसद पद खारेज भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights