☰ open

उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित

२०८० बैशाख १३, बुधबार ०९:५५
मिडियाखबर

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

१० वैशाखमा भएको उपनिर्वाचना यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनले २८ हजार ४१५ मत प्राप्त गरेका छन्।

यादवका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरेका छन्।

जसपा अध्यक्ष यादव ५ हजार ८१ मतान्तरले विजयी भएका हुन्। उनले मतगणना सुरू भएदेखि अग्रता कायम गरेका थिए।

तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेल २ हजार ८२९ मत ल्याएर चौथौं स्थानमा छन्।

१ लाख ५ हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको थियो।

त्यसमध्ये ३७ हजार पुरुष र ३२ हजार ५८ महिलाको मत खसेको थियो। यो क्षेत्रमा ६५.६६ प्रतिशत मतदान भएको थियो।

४ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष सिके राउतबाट सप्तरी–२ मा पराजित भएका थिए।

सप्तरीमा चुनाव जितेर प्रतिनिधिसभासम्म पुग्ने यात्रामा राउतले ‘ब्रेक’ लगाइदिएपछि यादव बारा–२ बाट उपचुनावमा प्रतिस्पर्धामा उत्रिएका थिए।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट जसपाकै रामसहाय प्रसाद यादव नेकपा माओवादी केन्द्र (हाल जनमत) का शिवचन्द्र कुशवाहालाई पराजित गरेर प्रतिनिधिसभा सदस्यमा निर्वाचिन भएका थिए।

त्यो बेला कुशवाहा रामसहायसँग ३५४ मतको अन्तरले पराजित भएका थिए।

उपनिर्वाचनमा पनि माओवादी केन्द्रबाटै चुनाव लड्ने चाहना व्यक्त गरे पनि गठबन्धनले जसपा अध्यक्ष यादवलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कुशवाहा जनमत पार्टी प्रवेश गरेका थिए।

जसपाबाट निर्वाचित रामसहाय उपराष्ट्रपति भएपछि बारा–२ मा उपनिर्वाचन भएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights