☰ open

कक्षा १२ को परीक्षा आजबाट सुरू

२०८० बैशाख २६, मंगलवार १०:३५
मिडियाखबर

कक्षा १२ को परीक्षा आजबाट सुरू भएको छ। यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी छन्। परीक्षाका लागि १ हजार ४५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चालन हुनेछ। बिहान ८ बजेदेखि सुरू हुने परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कक्षा १२ को वार्षिक परीक्षाका लागि सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र अन्य कर्मचारीसहित कुल ५० हजार जनशक्ति परिचालन भएका छन्।

आजबाट सुरू भएको परीक्षामा गत वर्ष तीन विषयमा ननग्रेड (एनजी) आएका करिब ५६ हजार विद्यार्थी सहभागी भएका छन्। उनीहरूले कम नम्बर आएको विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ।

यसभन्दा अघि दुई वा दुईभन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयमा सोही वर्षमात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो।

यसअघि तीन वा सोभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेको थियो। त्योसँगै परीक्षाका लागि छवटै विषयको फारम भरे पनि जति विषयमा एनजी आएको छ त्यतिकै विषयको मात्र परीक्षा दिनुपर्ने भएको हो।

बोर्डको प्रस्तावमा मन्त्रीस्तरीय निर्णयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको थियो।

दुई विषयभन्दा बढी जतिसुकै विषयमा एनजी प्राप्त गरेका छन् ती विषयको मात्र ग्रेड वृद्धिको परीक्षा दिनुपर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights