☰ open

चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार भेटवार्ता

२०८० जेष्ठ १८, बिहीबार ०९:३८
मिडियाखबर

बिहान ११ बजे नयाँदिल्लीस्थित हैदराबाद हाउसमा दुवै प्रधानमन्त्रीबीच भेटवार्ता हुन लागेको हो।

भ्रमणतालिकाअनुसार प्रचण्ड र मोदीबीचको भेटवार्ताका लागि आधा घण्टा समय छुट्याइएको छ।

त्यसपछि प्रतिनिधिमण्डल स्तरको बैठकमा प्रचण्ड र मोदी सहभागी हुनेछन्। प्रतिनिधिमण्डल स्तरको बैठकपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन्।

आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाल प्रतिनिधिमण्डल सहभागी हुनेछ।

बुधबार दिउँसो नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरू गरेका थिए। बुधबार उनले भारतका विदेशमन्त्री एस.जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए।

जयशंकर र डोभाल प्रधानमन्त्री प्रचण्डलाई भेट्न साँझ होटलमा पुगेका थिए।

प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदी धनखडसँग पनि आजै भेटवार्ता गर्ने कार्यसूची छ। 

उपराष्ट्रपति धनखडसँग अपराह्न ४ बजे र राष्ट्रपति मुर्मूसँग साढे ४ बजे भेट्ने समय निर्धारण गरिएको छ।

त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) र भारतीय उद्योग परिसंघ (सिआइआइ) ले संयुक्तरूपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ।

यसैगरी भारतका लागि भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले आयोजना गर्ने स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि प्रधानमन्त्री प्रचण्डले भेटघाट गर्ने कार्यक्रम छ।

भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेसको उज्जैन र इन्दोर भ्रमणमा जानेछन्।

चौथो दिन शनिबार इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट र विशेष आर्थिक क्षेत्रको भ्रमण गरेर दिउँसो १ बजे प्रचण्ड नयाँदिल्ली फर्किने छन्।

त्यही दिन उनको नयाँदिल्लीबाट नेपाल एयरलाइन्सको अपराह्न ४ः२० को उडानबाट काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री प्रचण्डलाई बुधबार नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी थिइन्।

प्रचण्डलाई विभिन्न झाँकी र सांस्कृतिक प्रदर्शनीसहित विमानस्थलमा स्वागत गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights