☰ open

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सहित तीन जनालाई ७ दिने स्पष्टीकरण सोधेको

२०८० असार १, शुक्रबार १६:४३
मिडियाखबर

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सहित तीन जनालाई स्पष्टीकरण सोधेको छ।

सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूजानकारी र सूचना नदिइ तार काटेको विषयमा प्राधिकरणले स्पष्टीकरण सोधेको हो।

महानगरको वडा नम्बर ९ मा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाइ फेन्सिङ तार काटेको थियो।

यसै विषयमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले महानगर प्रमुखसहितलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन्।

प्राधिकरणले यो कार्यलाई कानुनविपरित भनेको छ।

‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबरजस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगर प्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईं (मेयर) को संलग्तना देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु,’ प्राधिकरणले मेयर साहलाई शुक्रबार लेखेको पत्रमा उल्लेख गरिएको छ।

यो विषयमा चित्तबुझ्दो जवाफ नदिए मेयर साहसहित संलग्नहरूलाई उडानमा प्रतिबन्ध लगाउन सकिने प्राधिकरण स्रोतले बताएको छ।

प्राधिकरणले यसै विषयमा महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का वडा अध्यक्ष रामजी भण्डारी पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेको छ।

यो कानुन उल्लंघन भएको पुष्टि भएमा ५० हजार जरिवाना र जरिवाना नतिरेमा उडानमा प्रतिबन्ध लगाउन सकिने प्राधिकरणको कानुनमा व्यवस्था रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights