☰ open

चार नेताद्वारा समाजवादी मोर्चा घोषणा

२०८० असार ५, मंगलवार ११:०८
मिडियाखबर

चार नेताद्वारा समाजवादी मोर्चाको सहमतिपत्रमा हस्ताक्षर गरिएको छन्। सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा सुरू भएको समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत उपस्थित छन‍्।

हस्ताक्षरपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले उक्त सहमति पत्र पढेर सुनाएका थिए। जसमा ७ बुँदे प्रतिबद्धता समेत उल्लेख गरिएको छ। त्‍यसपछि उनीहरूले हात उठाएर ऐक्यबद्धता जनाएका थिए।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड रहेको बताए । सरकारमा रहेको पार्टी र सडकमा जनताका लागि संघर्ष गरिरहेको पार्टी एउटै मोर्चामा एकतावद्ध हुनु नेपाली राजनीतिको दुर्लभ परिघटना रहेको उनको दाबी थियो । ‘यो नेपाली राजनीतिमा नयाँ प्रयोग हो । नेपालको इतिहासमा यसरी कहिल्यै प्रयोग भएको छैन । सरकारमा भएको पार्टीपनि यहाँ हुनुहुन्छ र हामी जनताको बीचमा संघर्ष गरिरहेका पार्टीहरू पनि यहाँ छौं।’, उनले भने ।

नेपाल अत्यासलाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको र चार दलबीचको लामो छलफलपछि नेपाली जनताकै चाहनाबमोजिम एउटै मोर्चामा उभिने निष्कर्षमा पुगेको उनले बताए । विप्लवले भने, ‘थुप्रै खालका अन्यौलता र आकांक्षाका बीचमा नेपालका नागरिकहरू उभिइरहेका छन्।यो विशिष्ठ परिस्थिति सामान्य छैन । आजको परिस्‍थितिबाट प्रतिगामी र पश्चगामी मौकाको फाइदा उठाउन दिनुहुँदैन।’ त्यसकै लागि समाजवादी मोर्चा अगाडि ल्याइएको उनले बताए।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यो मोर्चा कसैका विरूद्ध नभएको बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै यस मोर्चाबाट नतर्सिन पनि आग्रह गरेका छन्। उनले भने, ‘यो मोर्चा कसैको विरूद्धमा लक्षित छैन, त्यसैले कोही नतर्सिए हुन्छ। केही साथीहरू घोषणा हुनुअघि नै मिडियामा बरबराइसके। नबरबराउन म अनुरोध गर्न चाहन्छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights