☰ open

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ

२०८० असार ७, बिहीबार ११:१२
मिडियाखबर

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ । उक्त खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ ।

नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली जिम्बावेसित पराजित भएको थियो । दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो । नेपालले दुई पटकको एकदिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसित पहिलो पटक खेल्न लागेको हो । नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग यही असार नौ गते खेल्नेछ ।

सन् २०२३ को सुरूआतमा मोन्टी देसाई प्रशिक्षक भएर आएयता नेपालले आफ्नो प्रदर्शन सुधारेको मात्रै छैन केही खेललाई छोडिदिने हो भने अधिकांशमा जित हासिल गरेको छ।

देसाइ नेपाल आउनुअघि वेस्टइन्डिजकै ब्याटिङ प्रशिक्षक थिए। उनले त्यहाँ दुई वर्ष ब्याटिङ प्रशिक्षकको रूपमा भूमिका वहन गरिसकेका छन्। डिसेम्बर अन्त्यमा वेस्टइन्डिजसँगको सम्झौता सकिएपछि उनी नेपालको मुख्य प्रशिक्षक भएर काठमाडौं ओर्लिएका थिए।

वेस्टइन्डिजका वर्तमान खेलाडीहरूबारे देसाइ पूर्णरूपमा जानकार रहेको बताइन्छ। कुनैबेला एकदिवसीय र विश्वकप क्रिकेटमा ‘रजगज’ रहेको वेस्टइन्डिज टिम अहिले विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्नुपरिरहेको छ।

एकदिवसीय वरियतामा बंगलादेश र अफगानिस्तानभन्दा पनि पछाडि परेपछि वेस्टइन्डिज यो प्रतियोगिता खेल्न बाध्य भएको हो।

जारी छनोट प्रतियोगितामा १० टोली सहभागी छन् । समूह ‘ए’ मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्ट इन्डिज तथा समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, युनाइटेड अरब इमिरेटस् (युएई) र स्कटल्यान्ड रहेका छन् । दुवै समूहबाट शीर्ष तीन/तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आयोजना हुने विश्वकप क्रिकेटका लागि स्थान बनाउने छन् ।

आजै अर्को खेलमा अमेरिका र नेदरल्यान्ड्स भिड्ने छन् । उक्त खेल पनि मध्याह्न पौने एक बजे सुरु हुने छ । नेदरल्यान्डले पहिलो खेलमा जिम्बावेसँग हार व्यहोरेको थियो । अमेरिका भने पहिलो खेलमा वेस्ट इन्डिज र दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights