☰ open

असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

२०८० असार १५, शुक्रबार ११:४५
मिडियाखबर

जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशभर २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी तथा रोपाइँ गरेर महोत्सव मनाइने कृषि विभागका महानिर्देशक एवं धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिका अध्यक्ष डा.हरिबहादुर केसीले जानकारी दिए।

‘मानो रोपेर मुरी फलाउने’ दिनको रूपमा पनि धान दिवस तथा रोपाइँ महोत्सव मनाइने गरिन्छ।

यो दिवसका दिन अधिकांश स्थानमा रोपाइँ सुरूवात गर्ने गरेको पाइन्छ। खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि मनाउने गरिन्छ।

धान रोपाइँ महोत्वसका अवसरमा रोपाइँ गर्ने दिन हिलो छ्यापेर पनि मनाउने गरिन्छ। पोखरा, चितवनलगायतका ठाउँमा विशेष महोत्सवका रूपमा यो दिनलाई मनाउने गरिन्छ।

यी ठाउँमा विदेशी पर्यटकको पनि सहभागिता हुने गरेको छ। रोपाइँ गदैगर्दा विदेशी पर्यटकले हिलो छ्यापेर महोत्सव मनाउने गरेको पाइन्छ।

कृषि प्रधान देश नेपालमा खाद्य सुरक्षाको प्रमुख आधारका रूपमा रहेको धानको उत्पादनलाई महत्व दिँदै आएका कारणले सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउँदै आएको हो।

धानको विविध महत्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि एवं आधनुनिकीकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले २०६१ सालदेखि नियमित रूपमा प्रत्येक वर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको छ।

चालु आर्थिक वर्षमा धानको उत्पादनमा वृद्धि भएको छ। यस वर्ष ५४ लाख ८६ हजार ४७२ टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

यो परिमाण गत आर्थिक वर्षको तुलनामा ३ लाख ५५ हजार ८४७ टन बढी रहेको मन्त्रालयको भनाइ छ। आगामी आर्थिक वर्षमा पनि धान उत्पादनमा वृद्धि हुने अनुमान सरकारले गरेको छ।

आर्थिक सर्वेक्षणअनुसार धानलगायतका बर्खे बालीको उत्पादनमा वृद्धि भए पनि हिँउदे बालीका साथै दुध, अन्डा तथा मासुको उत्पादनमा केही ह्रास आएको बताइएको छ।

विगतका वर्षदेखि कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गइरहेको छ।

आर्थिक वर्ष २०७० / ७१ मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३०.३ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा यस्तो योगदान २४.१ प्रतिशत रहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights