☰ open

वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११० जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काए

२०८० असार २८, बिहीबार १३:४८
मिडियाखबर

वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११० जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ।  कार्यालयले बुधवार बेलुका वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका नेपाली कामदारलाई गन्तव्य मुलुक जान नदिएर फिर्ता पठाएको हो।

उनीहरूले पेश गरेको कागजपत्र शङ्कास्पद देखिएपछि अध्यागमन कार्यालयले कामदारलाई प्रस्थान अनुमति नदिई फिर्ता पठाएको छ।

उनीहरूलाई दिएको पत्रमा अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार पेस गरेको यात्रासँग सम्बन्धित कागजातहरू शङ्कास्पद देखिएको हुँदा प्रस्थान अनुमति नदिइएको उल्लेख गरिएको छ।

सलम एयरको उडानबाट मस्कट हुँदै कुवेत प्रस्थानका लागि अनुमति माग गरेकोमा निर्धारित बोर्डिङ समयभन्दा ढिला गरी आइपुगेकोले पनि प्रस्थान अनुमति नदिइएको अध्यागमनले जनाएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले टिकट, भिसा, श्रम स्वीकृति सबै कागजात पेस गर्दा पनि उनीहरूलाई फर्काइएको भन्दै दु:ख व्यक्त गरेका छन्। अध्यागमन कार्यालयले पछिल्लो समय निकै ज्यादतीपूर्ण कार्य गर्दै आएको उनको आरोप छ।

अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालले उनीहरूले पेस गरेका कागजात शङ्कास्पद देखिएकाले रोकिएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights