☰ open

१०० किलो सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीसहित तीन जना निलम्बन

२०८० श्रावण ५, शुक्रबार ११:४२
मिडियाखबर

भन्सार विभागले भन्सारका दुई कर्मचारी र एक जना भन्सार एजेन्टलाई निलम्बन गरेको छन्। भन्सार विभागका निर्देशक पूण्यविक्रम खड्काले विमानस्थलका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र भन्सार एजेन्ट यादव पराजुलीलाई निलम्बन गरिएको जानकारी दिए।

तीनै जनालाई सुन तस्करीका विषयमा छानबिन गर्न निलम्बन गरिएको उनले बताएका छन्। जाँच पासमा उहाँहरूले नै हस्ताक्षर गर्नुभएको छ, यो प्रकरणको छानबिनका लागि निलम्बन गरिएको हो,’ खड्काले भने। भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छानबिन समिति बताएको छ।

विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेल नेतृत्वको टोलीले छानबिन गरिरहेको हो। निर्देशक खड्काले यो प्रकरणको थप छानबिन भइरहेको बताए। चीनबाट हङकङ हुँदै काठमाडौं आएको क्याथे प्यासिफिक एयरलाइन्समार्फत आएको सुन राजस्व अनुसन्धान विभागले बुधबार साँझ बरादम गरेको थियो।

मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर सुन भित्र्याइएको गोप्य सूचनाको आधारमा राजस्व अनुसन्धान विभागले ‘अपरेसन’ चलाएर विमानस्थलको कार्गो बाहिर ट्याक्सीबाट सुन नियन्त्रणमा लिएको थियो।

यो प्रकरणमा विभागले चिनियाँ नागरिक जिक्वाङ लिनसहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। राजस्व अनुसन्धान विभागले काठमाडौंको बूढानीलकण्ठस्थित रेडी ट्रेड प्रालिको नाममा ‘ब्रेड प्याड’ को नाममा सुन भित्र्याइएको अनुसन्धानको क्रममा फेला पारेको छ।

रेडी ट्रेड प्रालि दोलखाको मेलुङ गाउँपालिका–१ का २१ वर्षीय दिलिप भुजेलको नाममा दर्ता छ। विभागको टोलीले दिलिप र उनका मामा राजकुमार भुजेललाई नियन्त्रणमा लिइसकेको छ।

दिलिप सुरूमा ज्यामी र पछिल्लो समय साँखुस्थित एक चाउमिन उद्योगमा काम गर्दै आइरहेका थिए। कम्पनीका मालिक दिलिप देखिए पनि यसका पछाडि अरू व्यक्तिको हात हुनसक्ने आशंका गरिएको छ।

आर्थिक अवस्था खासै राम्रो नभएका दिलिपले झन्डै एक अर्ब मूल्य बराबरको सुन आयात गर्न नसक्ने भएकाले यसका पछाडि अरू व्यक्तिको संलग्नता हुन सक्ने अनुमान गरिएको हो।

नेपाल प्रहरीका एक जना पूर्व उच्च अधिकारी एक अर्बको सुन भित्र्याउने काम ठूला उद्योगपतिको हुने र यो विना राजनीतिक संरक्षणको सम्भव नभएको बताउँछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights