☰ open

भ्रष्टाचारविरूद्धको अभियानमा लागेपछि मेरो राजीनामा माग्ने विषय अस्वभाविक होइन

२०८० श्रावण ९, मंगलवार १४:४६
मिडियाखबर

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको नेक्सससम्मै पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिइएको बताएका छन्।

मंगलबार प्रेस सेन्टर गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रकरणमा संलग्न कोही पनि उम्किन नपाउने बताए।

‘हामी समग्र पनि अनुसन्धान गर्दैछौं, समग्र अनुसन्धानको प्रक्रिया अगाडि बढाउँदा जरैसम्म पुग्ने नेक्सससम्म पुग्ने निर्देशन दिएका छौं। यसका आधारमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याइन्छ,’ श्रेष्ठले भने।

उनले भ्रष्टाचारीहरू भएकैले यसविरूद्ध अभियान सुरू गरिएको जिकिर गरे।

‘भ्रष्टाचारीहरूको नेक्सस ठूलै भएर यो अभियान सुरू गरेका हौं, विभिन्नखाले प्रवृत्ति हुने भइहाल्यो,’ आफ्नो राजीनामा मागिएको विषयमा श्रेष्ठले भने,‘भ्रष्टाचारविरूद्धको अभियानमा लागेपछि मेरो राजीनामा माग्ने विषय अस्वभाविक होइन। हाम्रो पार्टी नै शुद्ध छ भने होइन नि।’

श्रेष्ठले प्रधानमन्त्रीको नेतृत्वमा शुसान कायम गर्न भ्रष्टाचारविरूद्धका अभियान निरन्तर चलिरहने जिकिर गरे।

‘पहिले के भयो त्यहाँबाट सिक्ने हो। अहिलेको घटनामा हामी जरासम्मै पुग्छौं, त्यसको स्रोतसम्मै पुग्छौं,’ उनले भने,‘प्रारम्भमा त कसले ल्यायो, ट्याक्सीमा कसले लग्यो उसलाई नै अनुसन्धान गर्नुप¥यो। तर, यतिकैमा हराउँदैन, जरोसम्मै पुगिन्छ। ढुक्क हुनुस्।’

उनले राज्यका निकायलाई संवैधानिक र कानुनी दायराभित्र रहेर स्वतन्त्र अनुसन्धान गर्न निर्देशन दिइएको उल्लेख गरे।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान बन्द भइसकेको छैन। उनले भने,‘जहाँसम्म पुग्छ त्यहाँसम्म अनुसन्धान हुन्छ। संलग्न जो कोहीलाई कारबाही हुन्छ।’

अहिलेको सरकार मुख्य रूपले सुशासन, समृद्धि र सामाजिक न्यायलाई एकसुत्रीय अभियान बनाएर अगाडि बढिरहेको उनले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights