☰ open

भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको

२०८० श्रावण १६, मंगलवार १३:५०
मिडियाखबर

भारतबाट पेट्रोल तथा डिजेलको भाउ बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ७ रुपैयाँ ८७ पैसा र डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको हो।

आईओसीले पठाएको सूचीअनुसार नै नेपालमा पनि स्वचालित प्रणालीबाट मूल्य समायोजन हुने गरेको छ। आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेकोमा यस पटक मूल्य बढेर आएको हो।

सोअनुसार स्वचालित प्रणालीबाट निगमले मूल्य समायोजन गर्नेछ। ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १ सय रुपैयाँ घटेर आएको छ। नेपालमा पनि ग्यासको मूल्य घट्नेछ।

केही दिनयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ। जसले गर्दा भारतबाट आउने प्रशोधित तेलको मूल्य बढेको हो। असार ९ गते डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ६९ डलर रहेकोमा साउन १६ गते ८१ डलर कायम भएको छ। त्यस्तै ब्रेन्ट तेलको यो अवधिमा ६९ डलरबाट ८५ डलर पुगेको छ। मुर्बान तेलको मूल्य प्रतिब्यारेल ७४ बाट ८४ डलर पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights