☰ open

गौर हत्याकाण्ड वेवास्ता गरे आन्दोलन चर्काउने चेतावनी दिए

२०८० श्रावण १८, बिहीबार १५:०५
मिडियाखबर

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले सरकारले आफूहरुको मागप्रति वेवास्ता गरे आन्दोलन चर्काउने चेतावनी दिएका छन् । बुधबार बसेको संघर्ष समितिको बैठकले घोषति आन्दोलनाई थप सशक्त एवं व्यापक बनाउने निर्णय गरेको हो ।

बुधबार साँझ संघर्ष समितिकी संयोजक रुपसागर देवी उपाध्यायले जारी गरेको विज्ञप्तीमा आफूहरुको मागप्रति राज्य उदासिन रहेको भन्दै गरिरहेको आन्दोलनलाई काठमाडौं के्रन्द्रीत बनाउने बाध्य हुने चेतावनी दिएकी हुन् ।

रौतहटमा जारी आन्दोलनलाई मधेशका थप जिल्लाहरुमा उठान गर्ने निर्णय समेत बैठकले गरेको छ । संघर्ष समितिलाई सहयोग गरिरहेको प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज मधेश प्रदेशको आठवटै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै छन् ।

१७ वर्ष अघि तत्कालिन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीले गौरको राइसमिलमा राखेको छुट्टाछुट्टै कार्यक्रममा झडप हुँदा २८ जन माओवादी कार्यकर्ता मारिएका थिए । जसमा दर्जनौ व्यक्ति घाइते समेत भएका थिए ।

घटनाको मुख्य अभियुक्त तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बनाउँदै २५३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तर हालसम्म प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको भन्दै पीडितहरु आन्दोलनमा उत्रेका छन् ।

दोषीहरुलाई अभिलम्ब पक्राउ गरी कारबाहीको माग गर्दै संघर्ष समितिले साउन १२ गतेदेखि अनिश्चितकालिन आन्दोलन थालेको छ । साउन १३ गतेदेखि रौतहटको चन्द्रनिगाहपुरमा पीडित परिवारहरु आमरण अनशनमा बसेका छन् । साउन १५ गते उनीहरुले रौतहटमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका थिए । साउन १५ गतेदेखि अनिश्चितकालिन रौतहट बन्दको घोषणा गरेको थियो । तर जसपाले प्रतिकार गर्ने चेतावनीपछि मुठभेटको अवस्था आउन सक्ने कुरालाई मध्यनजर गर्दै संघर्ष समितिले बन्दको कार्यक्रम स्थगित गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights