☰ open

सुन तस्करी अनुसन्धानको जिम्मा सिआइबीलाई

२०८० श्रावण १९, शुक्रबार १८:३०
मिडियाखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक क्विन्टल सुन तस्करीको अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका छन्। ३ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर पास भएर सिनामंगल पुर्‍याइएको एक क्विन्टल सुन बरामद गरेको थियो।

विभागले विशेष सूचनाका आधारमा चलाएको अपरेसनका क्रममा सो परिमाणमा सुन बरामद गरेको हो।  सुन बरामद भएको १६ दिनपछि प्रधानमन्त्री दाहालले अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका हुन्।

सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी प्रहरीमार्फत अनुसन्धान गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन्। क्विन्टल सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान भइरहेको छ। विभागले सुन तस्करी प्रकरणमा पाँच दिनपछि प्रहरीको सहयोग मागेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले एसपी कृष्ण पंगेनीलाई पठाएको छ। हालसम्म अनुसन्धानमा एक जना प्रहरी मात्र समावेश छन्।

हङकङबाट जहाजमा कार्गो गरी स्कुटरका ब्रेक सु भित्र लुकाएर ल्याइएको तस्करीको क्विन्टल सुन गत साउन २ मा विमानस्थल भन्सार जाँच पास पार गरेर सिनामंगल सडकमा पुगेपछि बरामद गरिएको थियो। भन्सार जाँच पास गरिएका शंकास्पद सामान खोलेर हेर्दा ब्रेक सुभित्र लुकाइएको सुनसहित दुई जना पक्राउ परेका थिए।

अनुसन्धानकै क्रममा नेपालमा संदिग्ध रूपमा बस्दै आएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ ठमेलबाट पक्राउ परेका थिए। यो प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्। सुन तस्करीका लागि प्रयोग भएका घर र गोदाममा पनि राजस्व अनुसन्धानले छापा मारिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights