☰ open

संसद सञ्चालनमा नेकपा एमालेले अवरोध गरे

२०८० श्रावण २४, बुधबार १५:२६
मिडियाखबर

संसद सञ्चालनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि अवरोध गरेको छ। सय किलो सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद बैठक अवरूद्ध गरेको हो।

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ। एमालेले प्रतिनिधिसभा बैठक १० साउनयता लगातार अवरूद्ध गर्दै आएको छ।

२ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएर आएको सय किलो बढी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

सुरूमा राजस्व अनुसन्धान विभागले छानबिन गरे पनि पछिल्लो समय यसको जिम्मा नेपाल प्रहरीको राष्ट्रिय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिइएको छ।

एमालेले सुन तस्करीको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन गर्न संसद अवरूद्ध गरेर दबाब दिइरहेको छ।

सुन तस्करी प्रकरणका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्ने भन्दै प्रमुख प्रतिक्षी दल एमालेले मंगलबार प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरेन।

गृहमन्त्री श्रेष्ठले सुन तस्करीको छानबिन राज्यका नियमित संयन्त्रहरूले गर्नुपर्ने र उनीहरूलाई विश्वास गर्न संसदमा आग्रह गरेका थिए।

सिआइबीले छानबिन गरी मुद्दा अगाडि बढाएपछि त्यसमा चित्त नबुझे थप अनुसन्धान तथा छानबिनका लागि सरकार तयार रहेको उनको भनाइ थियो।

गृहमन्त्री श्रेष्ठले संसदमा दिएको जवाफ सन्तोषजनक नरहेकोले बुधबार फेरि संसद बैठक अवरूद्ध गरेको एमालेको भनाइ छ।

बुधबारको बैठकमा एमालेका सांसद सूर्य थापाले तस्करीको संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएको बताए।

त्यसपछि एमाले सांसदहरू वेल घेर्न पुगेका थिए।

सभामुख देवराज घिमिरेले संसदको कार्यसूची अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए। उनले अन्य सांसदको कुरा सुन्ने वातावरण बनाउन आग्रह गरे।

तर, एमालेको अवरोध कायमै रहेपछि सभामुख घिमिरेले प्रतिनिधिसभा बैठक २६ साउनसम्म स्थगित गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights