☰ open

सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच भएकाे सम्झौताप्रति जसपाको आपत्ति

२०८० श्रावण २६, शुक्रबार १६:२५
मिडियाखबर

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच भएकाे सम्झौताप्रति आपत्ति जनाएको छ ।

जसपाले शुक्रवार सिंहदरबारमा रहेकाे पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो पार्टी र निर्दोष नागरिकलाई फसाउने गरी सम्झौता भएको भन्दै आपत्ति जनाएको हो । आफ्नो पार्टी र एक सय ३० जनाभन्दा बढी नागरिकलाई फसाउने गरी सम्झाैता गरिएकाे भन्दै त्यसप्रति खेद व्यक्त गरिएको पार्टीका प्रवक्ता मनिषकुमार सुमनले बताउनुभयो । उहाँले सम्झौताको विषयमा सरकारले पुनर्विचार नगरे सरकारबाट बाहिरिन सक्ने चेतावनीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जनता समाजवादी पार्टी यस्ता झुटा मुद्दाबाट डराएको पनि छैन । तर अचानक २३ गते एउटा सम्झौता गरेर हामीलाई फसाउने अथवा जनता समाजवादी पार्टीका नेतामात्र नभई एक सय ३० जनाभन्दा बढी नागरिकलाई फसाउने दुष्प्रयास गरिँदैछ । त्योप्रति हामीले खेदप्रकट गरेका छौँ । अब सरकारमा रहने, नरहने कुराहरू सरकार पक्षको व्यवहारबाट क्लियर हुन्छ ।’

जसपाले गाैर हत्याकाण्डमा तत्कालीन माओवादी केन्द्र र त्यसका नेता प्रभु साह मुख्य दोषी रहेको आरोप लगाउँदै आएको छ । प्रवक्ता सुमनले राष्ट्रिय मानव अधिकार आयोगलगायतका सरकार आफैँले गठन गरेको विभिन्न आयोगहरूले पनि सो हत्याकाण्डमा आफ्नो पार्टीको संलग्नता नरहेको पुष्टि भए पनि सरकारले आफ्नो पार्टीप्रति प्रतिशोध राखेर गौर हत्याकाण्डका पीडितसँग साउन २३ गते सम्झौता गरेको आरोप लगाउनुभयो । जसपाले हत्याकाण्डको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न पनि सरकारलाई दबाब दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights