☰ open

रातिदेखि परेको अविरल वर्षाका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान प्रभावित

२०८० श्रावण २८, आईतवार १६:५०
मिडियाखबर

वर्षाका कारण विमानस्थलमा भिजिविलिटी कम भएपछि हवाइ उडानहरू प्रभावित भएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अविरल वर्षाका कारण भिजिविलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द गरिएका छन्।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले वर्षाले भिजिविलिटी कम हुँदा हवाइ उडान प्रभावित भएको जानकारी दिएका छन्।

उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इन्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फुबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फुमै फर्किएका छन्।

साथैै अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए। विमानस्थलका अनुसार आन्तरिकतर्फ काठमाडौंबाट पोखरा र सुर्खेत विमानस्थल अहिलेसम्म खुल्न सकेका छैनन्। त्यस्तै काठमाडौं–तुम्लिङटारको उडान रद्द गरिएको छ।

विमानस्थलले जनाएअनुसार बुद्ध एयरका काठमाडौं–पोखरा रूटका तीनवटा र बुद्ध एयरकै काठमाडौं–तुम्लिङटारको एउटा हवाइ उडान रद्द भएका छन्।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबारसम्म देशभर वर्षा जारी रहने अनुमान गरेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights