☰ open

सिआइबीको अपरेसनका क्रममा पक्राउ परेका ‘सक्कली डाक्टर’ रञ्जितकुमार यादव रिहा भए

२०८० श्रावण २९, सोमबार ११:३६
मिडियाखबर

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को ‘फोक्सट्रोट चार्ली’ नामक अपरेसनका क्रममा पक्राउ परेका ‘सक्कली डाक्टर’ रञ्जितकुमार यादव रिहा भएका छन्।

बारा घर भएका यादवलाई सिआइबीले आइतबार साँझ थुनामुक्त गरेको हो। उनी ‘नक्कली डाक्टर’विरुद्ध सिआइबीको ‘फोक्सट्रोट चार्ली’ अपरेसनका क्रममा पक्राउ परेका थिए।

अदालतले अनुसन्धानका लागि म्याद थप गरेपछि डाक्टर यादव सक्कली भएको पाइएको हो। नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपिसहितको पत्र सिआइबीलाई पठाएसँगै उनलाई हिजाे रिहा गरिएकाे हाे।

स्रोतका अनुसार रञ्जितकुमार यादव नाम गरेका अर्का नक्कली डाक्टरलाई पक्राउ गर्नुपर्नेमा सिआइबीले नक्कली भन्दै सक्कली डाक्टर यादवलाई पक्राउ गरेको पाइएको हो। अनुसन्धानमा संलग्न अधिकारी भन्छन्, ‘रञ्जितकुमार यादव नाम गरेका अर्कै नक्कली डाक्टरलाई समात्नुपर्ने थियो तर नाम एउटै परेका कारण भुलवश सक्कली डाक्टर पर्नुभएछ।’

सिआइबीले एसएलसी तथा प्रमाणपत्र तहमा नक्कली प्रमाणपत्र तह बनाएर चिकित्सा शिक्षाको योग्यता हासिल गरेको पाइएपछि ‘फोक्सट्रोट चार्ली’ अपरेसन चलाएकाे हाे।

प्रहरीले यस प्रकरणमा हालसम्म ८ जनालाई पक्राउ गरेको छ। जसमध्ये सांसद सुनिल शर्मा थुनामुक्त रहेकाले ७ जना मात्रै हिरासतमा रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights