☰ open

जनमत पार्टीकी अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको सपथ लिएकी

२०८० श्रावण २९, सोमबार ११:५३
मिडियाखबर

जनमत पार्टीकी अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको सपथ लिएकी छन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको सपथ दिलाएका हुन्।

जनमत पार्टीलाई सरकारमा सामेल गराउन माओवादी केन्द्रले यसअघि सामान्य प्रशासनमन्त्री रहेका अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। मोदी सरकारबाट फिर्ता भएसँगै साहले सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी हुन्।

जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीमा नियुक्त गर्न साहको नाम एक महिनाअघि पठाए पनि माओवादी केन्द्रबाट कसलाई फिर्ता बोलाउने भन्नेबारे टुंगो नलाग्दा ढिलाइ भएको थियो।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, उपमहासचिवद्वय वर्षमान पुन, जनार्दन शर्मालगायतका पदाधिकारीहरूबीच भएको छलफलमा मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय भएको थियो।

मोदीलाई फिर्ता बोलाएर माओवादी केन्द्रले उनको ठाउँमा जनमत पार्टीकी साहलाई सामान्य प्रशान मन्त्रालयको जिम्मेवारी दिएको हो।

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा खानेपानीमन्त्री रहेका अब्दुल खानले रोजेको उद्योग मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए। त्यसयता जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्ड निरन्तर प्रयासरत थिए।

जनमत पार्टीका अध्यक्ष सिके राउतसँग केही दिनअघि भएको भेटवार्तामा प्रचण्डले जनमतलाई सरकारमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।  सरकारको नेतृत्व गरिरहेकाले प्रधानमन्त्री प्रचण्डले जनमतलाई सत्ता साझेदार बनाउन आफ्नै पार्टीका मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएका हुन्।

माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी पाँचमध्ये एक मन्त्रीलाई फिर्ता बोलाइएको हो। यसअघि उद्योग र कृषि मन्त्रालयमा दाबी गरिरहेको जनमत पार्टीले भने यसपालि कुनै अडान प्रस्तुत गरेको थिएन।

सरकारको स्थिरताका लागि खास मन्त्रालयका लागि अडान प्रस्तुत नगरिएको जनमत पार्टीका नेताहरूले बताएका छन्।

जनमत पार्टीका प्रवक्ता शरतसिंह यादव यसअघि कृषि र उद्योग मन्त्रालयमा दाबी गरे पनि सरकारको स्थिरताका लागि त्यस्तो अडान नराखिएको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights