☰ open

सहमहामन्त्री महेन्द यादवमाथि साङ्घातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग

२०८० भाद्र २१, बिहीबार १५:३८
मिडियाखबर

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द यादवमाथि साङ्घातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो साङ्घातिक आक्रमणमा संलग्नमाथि कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

उनले सो घटनाबारे तत्काल संसद्लाई जानकारी गराउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सचेत गराए । पार्टीका सहमहामन्त्री यादवको ज्यान मार्ने उद्देश्यले सो साङ्घातिक आक्रमण भएको जिकिर गर्दै प्रमुख सचेतक लेखकले त्यस घटनाप्रति निन्दा र भर्त्सना गर्दै त्यसको सत्यतथ्य विस्तृत रूपमा सरकारले छानबिन गर्नुपर्ने समेत बताए ।

उनले भने, ‘‘यो आक्रमण हेर्दाखेरी प्रष्ट देखिन्छ–आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै उद्देश्य हो । यो ज्यान मार्नकै लागि गरिएको प्रहार अत्यन्तै क्रूरतापूर्ण, साङ्घातिक र बर्बर खालको जुन प्रहार भएको छ । यसबाट उहाँको ज्यान बाँचेको स्थिति छ । म सिङ्गो नेपाली कांग्रेसको तर्फबाट, नेपाली कांग्रेस संसदीय संसदीय दलको तर्फबाट यो आक्रमणको घटनाको घोर भर्त्सना गर्न चाहन्छु, घोर निन्दा गर्न चाहन्छु । नेपाल सरकारलाई दोषीलगायत अरू पनि मानिसहरूको कहीँकतै संलग्नता छ भने सत्यतथ्य छानबिन गरी कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरियोस् भन्ने म नेपाली कांग्रेस र संसदीय दलको तर्फबाट नेपाल सरकारसँग माग गर्न चाहन्छु ।’’

प्रमुख सचेतक लेखकले सरकारले सो घटनाबारे प्रतिनिधि सभाको अर्को बैठकमा नै संसद्लाई जानकारी गराउनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights