☰ open

भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंसम्म द्रुत बस सेवा सञ्चालन हुने

२०८० आश्विन २, मंगलवार १५:३५
मिडियाखबर

भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंसम्म द्रुत बस सेवा सञ्चालन हुने भएको छ।

सरकारले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि यो बस सेवा सञ्चालनमा ल्याउन लागेको हो।

यसका लागि अलग्गै लेन तयार गरिएको छ।

उपत्यकामा धेरै ट्राफिक जाम र सार्वजनिक यातायातामा सवार व्यक्ति समयमा गन्तव्यमा पुग्न कठिन भएपछि दु्रत बस सेवा सञ्चालनमा ल्याइएको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार तत्कालका लागि द्रुत बस सेवा अत्याधिक जामको समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ।

त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालन हुनेछन्।

द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन र बसको रंग फरक हुनेछ। द्रुत बस सेवाको सडक लेन बनाइएको छ।

यातायातमन्त्री प्रकाश ज्वालाले सडक विभागलाई बसको आकार प्रकार, सफाइ तथा रोड पर्मिटको व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

त्यही निर्देशनअनुसार विभागले द्रुत बस सेवा सञ्चालनका लागि छुट्टै लेन बनाएको हो।

यसैगरी पहिलो चरणमा दु्रत बस सेवा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालन हुनेछ।

अत्याधिक जामको बेला सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा डेढ घन्टा लाग्ने गरेको छ भने दु्रत बस सेवा सञ्चालन भएपछि जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने अनुमान गरिएको छ।

द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइएको छ। दु्रत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्नेछ।

यात्रुहरूको समय व्यवस्थापन गर्न भन्दै द्रुत बस सेवा सञ्चालन गरिएको भनिए पनि सडक एउटै भएकाले समस्या समाधान नहुने कतिपयको भनाइ छ।

छुट्टै लेन राखिए पनि अरू सवारीसाधन पनि उही सडकमा गुड्ने भएकाले द्रुत बस सेवाबाट जाम छल्न कठिन हुने उनीहरूको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights