☰ open

राष्ट्रसंघीय महासभा र चीन भ्रमण सफल भएको बताए

२०८० आश्विन १३, शनिबार १४:११
मिडियाखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनबाट स्वदेश फर्कने क्रममा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। राष्ट्रसंघीय महासभा र चीन भ्रमण सफल भएको बताएका छन्।

करिब चार वर्ष चीन र नेपालबीच उच्चस्तरीय भ्रमण नभएकाले आफ्नो भ्रमण हुनु महत्वपूर्ण रहेको प्रचण्डले बताए।

‘समग्रमा दुवै भ्रमणहरू सफल भएको मैले ठानेको छु। चीनको भ्रमणले झन्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्का मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको उल्लेख गरे।

प्रचण्डले भने,‘राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ, पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तिब्रत दिने मार्गप्रशस्त भएको छ, र अझ महत्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरूको सद्भावमा अभिवृद्धि भएको छ।’

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सद्भाव हासिल गर्ने काम पनि भएको प्रचण्डले बताए।

नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने विषयमा नेपालले जोड दिएको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्ड अमेरिकापछि ८ दिनको चीनको औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएका हुन्।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए।

संयुक्त राष्ट्रसंघको न्यूयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आमबहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उनले सम्बोधन गरेका थिए।

न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गरेका थिए। साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता भएको थियो।

प्रचण्ड अमेरिकाबाट सोझै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights