☰ open

यौन दुर्व्यवहार गरेको एसएसपी ले राजीनामा दिए

२०८० आश्विन १५, सोमबार १०:४०
मिडियाखबर

सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा उनले १९ जेठमा दुर्वयवहार गरेको भन्दै एक जना महिला सहायक हवल्दारले उजुरी दिएकी थिइन् । त्यसक्रममा छानबिनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनेको थियो ।

समितिले उनलाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेलगत्तै पालको राजीनामा आएको हो । पाललाई यसअघि नै गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

बिदामा जान लागेकी महिला कर्मचारीलाई दुर्व्यवहार गरिएको प्रकरणमा प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समितिले दोषी ठहर गरेपनि फौजदारी कसूरमा भने पालविरुद्ध अनुसन्धान भएको छैन ।

छानबिन समितिका एक सदस्यका अनुसार, एसएसपी पालले बिदामा जान लागेकी कर्मचारीलाई ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँग बस्न भनेका थिए । छानबिनका क्रममा उनले अरु महिला कर्मचारीलाई समेत दुर्व्यवहार गर्ने गरेको भटिएको अधिकृतहरु बताउँछन् ।

सुदूर पश्चिमको महेन्द्रनगरमा कार्यरत रहँदा एसएसपी पालले बिदा माग्न गएकी महिला सहायक हवल्दारलाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाललाई निलम्बन गरेको थियो ।

छानविन समितिले अनुसन्धान गर्दा उनी पटके यौन दुर्व्यवहारी रहेको खुलेको अनुसन्धानस्रोतले बतायो। उनी कार्यरत कार्यालयमा कार्यरत अन्य महिला प्रहरी कर्मचारीसँग समेत समितिले सोधपुछ गरेको थियो।

सोधपुछमा उनीहरूले समितिका अधिकारीहरूलाई पाल रहेको कोठामा एक्लै भेट्न जान पनि डर लाग्ने गरेको सुनाएका थिए। अनुसन्धानमा उनले महिला प्रहरी कर्मचारीलाई निजी निवासमा बोलाउने, नजिकै बस भन्ने, घुम्न जाऊँ भनेर फकाउने लगायतका दुर्व्यवहार गर्ने गरेको प्रतिवेदनमा समेत औँल्याइएको छ।

जेठ १९ मा बिदामा घर जान लागेकी सहायक हवल्दारलाई उनले सेटबाट आफ्नो निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भन्दै दुर्व्यवहार गरेको आरोप लागेको थियो। ती महिला प्रहरी कोठाबाट बाहिर निस्किएर सहकर्मीलाई त्यसबारे जानकारी गराई प्रदेश कार्यालय धनगढीमा उजुरी गरेकी थिइन्।

सोही दिन प्रहरी प्रधान कार्यालयले उनलाई जिम्मेवारीबाट हटाएर केन्द्रमा तानेको थियो। पाल यस अगाडि २०७१ सालमा सोलुखुम्बु जिल्लाको प्रहरी प्रमुख भएको बेलामा महिला प्रहरी र गैर प्रहरीमाथिको यौन दुर्व्यवहारको घटनाको उजुरीका आधारमा सरुवा भएका थिए। बौद्ध वृत्त प्रमुखहुँदा पनि उनी कारबाहीमा परेका प्रहरी अधिकृत हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights