☰ open

सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछाने निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग

२०८० चैत्र २०, मंगलवार १२:२५
मिडियाखबर

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीमा जोडिएकाले सत्यतथ्य बुझ्न निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग पुनः दोहोर्‍याएको छ।

आज बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसदहरुले संसदीय छानबिन समितिलाई सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने अख्तियारी दिनुपर्ने माग गरेको हो।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद रामकृष्ण यादवलाई समय दिए।

सांसद यादवले सरकार पुनःगठनसँगै लामिछानेमाथिको छानबिन रोकिएर विश्वासको संकट उत्पन्न भएकाले संसदीय छानबिन हुनुपर्ने आवश्यकता औंल्याए। उनले लामिछाने सञ्चारकर्मीका रहेका बेला गोर्खा मिडिया प्रालिमा हुँदा सहकारीबाट ८० करोड ऋण लिएको र नतिरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरे।

सांसद यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गर्नुभयो । उनले गृहमन्त्री र सहकारी जोडिएको विषयबाहेक सदन चल्न आफ्नो पार्टीले अवरोध नगर्ने पनि स्पष्ट गरे।

उनले सदनमा सांसदले उठाएका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आग्रह गर्दै दण्डहीनता अन्त्य, कानुनी राज्यको पालना र सुशासन कायम गरेर नागरिकप्रति आशा सिर्जना गर्न आग्रह गरे। त्यसपछि सभामुख घिमिरेले उठेका विषयमा आफ्नो र संसद्को ध्यान गएको अवगत गराए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights