☰ open

संसद्को अवरोध खुलाउन बालुवाटारमा भएको छलफल बिना निष्कर्ष सकिए

२०८० चैत्र २७, मंगलवार १२:३८
मिडियाखबर

संसद्को अवरोध खुलाउन बालुवाटारमा भएको छलफल बिना निष्कर्ष सकिएको छ। सभामुख देवराज घिमिरेको पहलमा भएको छलफलमा कांग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने तथा कांग्रेस महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी रहेका थिए।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको विषयमा संसदीय छानबिनको माग राखेर मंगलबार संसद् बैठक अवरुद्ध गर्ने अडान जारी राखेपछि कुनै निष्कर्ष निस्किन नसकेको बताइएको छ।

अर्को तर्फ कांग्रेसको अडानकाबीच सरकारका तर्फबाट गृहमन्त्री लामिछानेले संसद्मा मंगलबार विधेयक पेश गर्ने तयारी गरेपछि संसद्मा झडप हुने समेत अनुमान गरिएको छ।

यही छलफलका कारण ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अहिलेसम्म शुरु हुन सकेको छैन। कांग्रेसले मंगलबारै संसदीय दलको बैठक बसेर सहकारी प्रकरणमा आफ्नो अडान कायम राख्ने र यस प्रकरणबाट पछि नहट्ने निर्णय गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights