☰ open

प्रधानमन्त्री प्रचण्डले भने रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै हो

२०८१ असार ४, सोमबार १२:३६
मिडियाखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता समीकरणमा कुनै उथलपुथल नहुने दाबी गरेका छन् । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन राम्रैसँग अघि बढ्ने बताएका हुन् ।

रास्वपाका नेताहरूले राजीनामा गोजीमा राखेर हिँडेको भन्नेबारे पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले गोजीमा राजीनामापत्र बोक्नु रास्वपाको पहिचान नै भएको बताएका छन् ।

‘त्यो त रविजीले सुरूमै भन्नुहुन्थ्यो नी, हामी त्यस्ता हौं भनेर । त्यो चाहीँ अब आफ्नो पहिचानको निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर मैले बुझेकोमा त्यस्तो केही पनि छैन ।’

रास्वपाका केही मन्त्रीहरूले सरकारलाई दिएको समर्थनबारे सोच्नुपर्ने बेला भएको बताउँदै आएका थिए ।

त्यस्तै तपाईंले उथलपुगल गर्ने बेला त भएको छैन नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘भा छैन । यो जान्छ, राम्रैसँग जान्छ । बाहिर कतिपय सन्दर्भमा मिडियामा आउने र्‍युमरहरूमा कुनै सत्यता छैन ।’

साथै, उनले सरकारका मन्त्रीहरूको १ सय दिनको उपलब्धि राम्रै पाएको जिकिर गरे । ‘१० दिनको उपलब्धि राम्रो नै छ । सबैभन्दा ठूलो कुरा नीति कार्यक्रम र बजेट जनताको पक्षमा राष्ट्रको पक्षमा प्रस्तुत भएको छ। राम्रैसँग प्रतिनिधिसभाबाट पारित पनि हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसको साथै अन्य सुशासन र सामाजिक न्याय समृद्धिको क्षेत्रमा पनि सकारात्मक पहलहरू अगाडि आएका छन् । यो सन्तोषजनक छ । तैपनि विगतमा भनेजस्तै, राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति लिन आवश्यक छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights